काठमाडौं। ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप वित्तीय भार पर्ने नयाँ आयोजना सुरु गर्नेभन्दा पनि वर्षौँदेखि रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। शुक्रवार जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन्।
समस्याको वर्गीकरण गरी समाधानको उपाय खोजिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले मन्त्री स्तरबाट गर्नुपर्ने काम आफूले गर्ने र अन्य तहबाट हुने काम आफ्नो जिम्मेवारीअनुसार परिणाम देखिने गरी कार्य गर्न मातहतका अधिकारीहरूलाई निर्देशन दिए।
‘कुर्सीमा कुन व्यक्ति बस्छ, भन्ने विषय महत्त्वपूर्ण होइन, कुर्सीमा बस्ने व्यक्तिको जिम्मेवारी के हो र उसले आफ्नो जिम्मेवारी कति निर्वाह गरिरहेको छ, भन्ने विषय महत्त्वपूर्ण छ’ मन्त्री श्रेष्ठले भने, ‘चालु आवको बाँकी तीनको अवधिमा जनताले सुधारको अनुभूति गर्ने र परिणाम आउने गरी सबै मिलेर काम गरौँ।’
साथै वित्तीय, शासकीय एवम् संरचनागत रूपमा के सुधार गर्न सकिन्छ भन्ने बारेमा मिलेर सोच्न र आफ्नो क्षमता, सीप तथा बजेटको अधिकतम उपयोग गरी लक्ष्य भेट्टाउन लाग्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। वैदेशिक मुद्राको मूल्यवृद्धिले विकास आयोजनाहरूमा पार्ने असर देखिन अझै बाँकी नै रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले समयमै परियोजनाहरू सम्पन्न गर्नेतर्फ सबैले ध्यान दिन जोड दिए।
ठुला परियोजनाहरू वर्षौँदेखि सम्पन्न हुन नसक्दा विकासको उपयोग कसले गर्ने भन्ने प्रश्नसमेत उब्जिएको भन्दै सिँचाइका परियोजनाहरू तीन दशकसम्म सम्पन्न हुन नसक्नु चिन्ताको विषय रहेको उल्लेख गरे।