काठमाडौं। दरमखोला हाइड्रो इनर्जीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बागलुङ र गुल्मीका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको थियो।
यसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ करोड ९१ लाख ९५ हजार बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण सेयर विदेश रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले आफ्ना कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको हो।
न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने आईपीओ छिटोमा साउन १९ सम्म र ढिलोमा साउन २९ सम्म अवधि तोकिएको छ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।