काठमाडौं। स्वास्थ्य सेवा विभागले ३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेको छ।
विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा संघीय प्रादेशिक, प्रतिष्ठान, जिल्ला र पालिका अस्पताल गरी ३५ वटा स्वास्थ्य संस्थालाई आज करिब ७० करोड बराबरको स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरिएको हो।
विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले ती अस्पताललाई आज स्वास्थ्यजन्य उपकरण तथा औजारहरु हस्तान्तरण गरेका हुन्।
विभागका आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले आर्थिक वर्ष २०८१/८२ मा खरिद गरिएका स्वास्थ्यजन्य उपकरण तथा औजारहरु स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताए। उनका अनुसार वीर अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, राष्ट्रिय क्षयरोग रोग नियन्त्रण केन्द्र, निजामती कर्मचारी अस्पताल, सहिद गङ्गलाल हृदय राष्ट्रिय केन्द्र, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, बैतडी अस्पताल, दैलेख अस्पताल, कान्ति वाल अस्पताल लगायत ३५ वटा अस्पताललाई स्वास्थ्य जन्य उपकरण हस्तान्तरण गरिएको हो।
निर्देशक डा रायमाझीले अस्पतालको माग र आवश्कताका आधारमा उपकरण वितरण गरिएको जानकारी दिए। ती स्वास्थ्य संस्थालाई मुटुको उपचारका लागि अत्याधुनिक उपकरण, मिर्गौलाको डायलासिस उपकरण, जनरल शल्यक्रिया, प्रयोगशालाका लागि अत्याधुनिक उपकरण, क्षयरोग स्क्रिनिङ, पेटसम्बन्धी रोगको पहिचान लगायतका उपकरण वितरण गरिएको छ।