काठमाडौं । कर्मचारी सञ्चय कोषले निर्माण गर्न लागेको बेतन कर्णाली अर्धजलाशय आयोजनाको क्षमता २४६ मेगावाट घटाइएको छ । आयोजनास्थलमा कमजोर भूबनोटका कारण बाँधलगायत अन्य संरचना सार्नु परेपछि आयोजनाको क्षमता ६८८ बाट घटाएर ४४२ मेगावाट कायम गरिएको हो । सरकारले ६८८ मेगावाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एनईए इन्जिनियरिङ लिमिटेडले आयोजनाको विस्तृत इन्जिनियरिङ, वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ । बाँधस्थल र सुरुङको भूगर्भ कमजोर हुँदा स्थायित्व नआउने भएपछि स्थान परिवर्तन गर्दा आयोजनाको क्षमता घटेको प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक रौनियारले बताए ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘कमजोर भूबनोटले गर्दा आयोजनाको क्षमता घटाउनु परेको हो ।’ आयोजनाको क्षमता घटेपछि लागत र ऊर्जा उत्पादनमा पनि केही कमी आउने उनले स्पष्ट पारे । एनईए इन्जिनियरिङले आगामी ४ महिनाभित्र विस्तृत इन्जिनियरिङको काम सक्ने रौनियारले जानकारी दिए । कम्पनीले विस्तृत इन्जिनियरिङको काम गरिरहेको छ । ४ महिनाभित्र सबै काम सक्ने जानकारी गराएको उनले बताए ।
क्षमता घटे पनि आयोजना आर्थिकरुपमा आकर्षक रहेको उनको दाबी छ । आयोजनाको लागत र बिजुली उत्पादनलगायत सबै विवरण विस्तृत इन्जिनियरिङको काम सकिएपछि आउने छ । आयोजना बनाउन ७० अर्ब रुपैयाँभन्दा बढी नलाग्ने अनुमान गरिएको रौनियारले स्पष्ट पारे ।
कोषका सञ्चयकर्ताबाट ४ अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको छ । वितरणयोग्य नाफाको आधा रकम सञ्चयकर्तालाई नगद लाभांश र आधा बेतन कर्णालीमा सेयर लगानी गरिएको छ । २८ करोड रुपैयाँ आयोजनाको विस्तृत इन्जिनियरिङलगायत काममा खर्च भएको छ । बेतन कर्णाली बनाउन सञ्चयकर्ताबाट ८ अर्ब रुपैयाँ लगानी जुटाउने लक्ष्य छ ।
आयोजनाका लागि चाहिने २१ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) जुट्ने देखिएको छ । ५० अर्ब रुपैयाँ बैङ्कबाट ऋण लिने योजना तय भएको छ । आयोजनामा नबिल र नेपाल एसबीआई बैङ्कले ऋण लगानी गर्ने समझदारी गरेका छन् । नेपाल विद्युत् प्राधिकराणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) तथा विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार भएपछि मात्र नबिल र एसबीआई बैङ्कले ऋण लगानी गर्ने छन् ।
बेतन कर्णालीमा सञ्चयकर्ताको ४० प्रतिशत सेयर लगानी हुने गरी लगानीसम्बन्धित विनियमावली बनाइसकिएको छ । आयोजनामा कोषको ५५, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीको १०÷१०, स्थानीय १० र १५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने गरी लगानी संरचना बनेको छ ।
अर्धजलाशययुक्त (पिकिङ) प्रकृतिको बेतन कर्णालीबाट वार्षिक ४ अर्ब २६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाए पनि क्षमता घटेकाले कम हुने छ । काम सुरु भएको ६ वर्षमा आयोजनाको काम सम्पन्न हुनेछ ।
आयोजना सुर्खेत र अछाममा पर्छ । आयोजनाको सुरुङ ६.६ किलोमिटर लामो हुनेछ । १६ किलोमिटर लामो पहुँचमार्ग र ५ किलोमिटर लामो प्रसारण लाइन बनाउनु पर्ने छ ।