काठमाडौं। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनी (नासआईटी)ले आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ।
नेपालको डिजिटल क्षेत्रलाई सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले समिति स्थापना गरिएको नास आईटीले बताएको छ।
समितिमा साइबर सुरक्षाविज्ञ तथा नासका सदस्य कम्पनीका प्रतिनिधि संलग्न छन्। नासआईटी बोर्डअन्तर्गत सञ्चालन हुने समितिले निजी क्षेत्र र बृहत् प्राविधिक समुदायमा व्यावहारिक तथा प्रभावशाली गतिविधिको नेतृत्व गर्नेछ।
नेपालको सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर उद्योगलाई सुरक्षित, सुदृढ र विश्वसनीय बनाएर डिजिटल संरचना र तथ्यांक सुरक्षा गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु समितिको मुख्य उद्देश्य रहेको बताइएको छ।
नवगठित समितिले ज्ञान आदानप्रदान, उपयोगी नीति निर्माण र उद्योग, शैक्षिक संस्था, सरकार तथा अन्य सरोकारवालाबीच सहकार्यको वातावरण विकास गरी साइबर सुरक्षामा पहल गर्नेछ।
रणनीतिक निर्णयमा सहयोग पुर्याउन शीर्ष विज्ञको ज्ञान प्रयोग, स्पष्ट, व्यावहारिक र प्रभावकारी साइबर सुरक्षा नीतिको विकास, निजी, सार्वजनिक, शैक्षिक र अनुसन्धान संस्थाबीचको समन्वय मजबुत बनाउने उद्देश्य राखेको छ।
त्यस्तै, तालिम, गोष्ठी, अनुसन्धान, र कार्यक्रममार्फत साइबर सुरक्षामा जनचेतना अभिवृद्धि गर्ने, स्थानिय स्टार्टअप, प्रविधि र सेवाहरूको समर्थन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय साइबर सुरक्षाको हब बनाउन समितिले अन्तरक्रिया, नवप्रवर्तन र सामूहिक पहललाई प्रोत्साहित गर्दै नेपालको साइबर सुरक्षा प्रयासलाई विश्वव्यापी मापदण्डअनुसार सुदृढ प्रयास गर्ने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ।
नवगठित समितिका प्रमुख सदस्यमा विजय लिम्बू सेनिहाङ रहेका छन् भने सदस्यमा घनश्याम ओली, प्रज्वल गौतम, रोशन पोखरेल र सम्पन्न श्रेष्ठ तथा सल्लाहकारमा अभय पौडेल, दीपेन चापागाईं, नारायण कोइराला रहेका छन्।