काठमाडौं। सरकारले अनलाइन ठगी र मनी लाउन्डरिङमा एप दुरुपयोग बढेको भन्दै साउन २ देखि टेलिग्राम बन्द गरेको छ। यसलाई अधिकारकर्मीले अभिव्यक्ति स्वतन्त्रता र डिजिटल अधिकारमाथि आक्रमण भनेका छन् भने सरकारले डिजिटल सुरक्षा सुनिश्चित गर्न तथा ठगी र अपराध नियन्त्रणका लागि आवश्यक भएको प्रतिक्रिया दिएको छ।
तर, यस्ता ठगी र स्क्याम केवल टेलिग्राममा मात्र सीमित छैनन्। इन्टरनेट पहुँच विस्तारसँगै जीवन सहज भए पनि जोखिम पनि बढेको छ। सामाजिक सञ्जाल र विभिन्न सेयरिङ प्लेटफर्ममार्फत चिट्ठा परेको दाबी, सस्तोमा कोठारफ्ल्याट पाउने, साझेदार खोज्ने, उत्तराधिकारसम्बन्धी कागज तयार पारिदिने वा भन्सारमा रोकिएको उपहार छुटाउन पैसा पठाउनुपर्नेजस्ता सन्देश र कल आउने गर्छन्।
फिसिङ स्क्याममा साइबर अपराधीले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी उनीहरूको व्यक्तिगत विवरण जस्तैः इमेल र पासवर्ड, बैंक खाता नम्बर,पिन कोडजस्ता संवेदनशील जानकारी ठगीपूर्वक प्राप्त गर्ने प्रयास गर्छन्।
यस्ता सन्देश र कलमा विश्वास गरी ओटीपी कोड, बैंक खाता विवरण वा फोन नम्बरजस्ता संवेदनशील जानकारी दिने प्रवृत्ति देखिन्छ। ठगीमा फस्दा धेरैले आर्थिक क्षति व्यहोर्नुपरेको छ। हाल नेपालमा तीमध्ये फिसिङ स्क्याम विशेष रूपमा बढेको छ, जसले धेरैलाई समस्यामा पारेको छ।
फिसिङ स्क्याम भनेको के होर?
फिसिङ स्क्याम भनेको यस्तो प्रकारको साइबर आक्रमण हो जसमा साइबर अपराधीले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी उनीहरूको व्यक्तिगत विवरण जस्तैः इमेल र पासवर्ड, बैंक खाता नम्बर,पिन कोडजस्ता संवेदनशील जानकारी ठगीपूर्वक प्राप्त गर्ने प्रयास गर्छन्। यसका लागि उनीहरूले विभिन्न प्रलोभन देखाउने, नक्कली वेबसाइट प्रयोग गर्ने, धम्की दिने वा फोनमार्फत पीडितलाई झुक्याउने गर्छन्।
स्क्यामबाट बच्ने उपाय
अपरिचित व्यक्ति वा ठेगानाबाट आएको सन्दिग्ध इमेल नखोल्ने
सन्दिग्ध इमेलको एट्याचमेन्ट नखोल्ने
इमेलमा रहेको सन्दिग्ध लिंकमा क्लिक नगर्ने
सन्दिग्ध इमेललाई तुरुन्तै मेट्ने वा ब्लक गर्ने
इमेलको उत्तर दिनुपर्ने खण्डमा ब्राउजरमा वेबसाइटको ठेगाना आफैं टाइप गरी मात्र प्रयोग गर्ने
पुरस्कार, उपहार वा लटरीको प्रलोभन दिइएको वा धम्की दिइएको इमेल, सन्देश वा फोनकललाई उत्तर नदिने
इएकइ, भीबीएसजस्ता असुरक्षित फाइल खोल्ने काम नगर्ने
अनावश्यक मेलिङ लिस्टबाट आफूलाई हटाउने
पासवर्ड, ओटीपी, बैंक खाता नम्बर वा पीन कोडजस्ता विवरण इमेलमार्फत नपठाउने
वेबसाइटको सत्य पुष्टि नगरी व्यक्तिगत विवरण (जस्तै बैंक कार्ड नम्बर, नागरिकता नम्बर आदि) साझा नगर्ने
सन्दिग्ध इमेल वा वेबसाइटबारे शंका लागेमा सम्बन्धित संस्था वा व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्ने
आफ्नो कम्प्युटर वा मोबाइल उपकरणमा एन्टिभाइरस प्रयोग गर्ने र नियमित रूपमा अपडेट गर्ने।