काठमाडौं। विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रभावबीच नेपाल क्षेत्रीय एआई केन्द्र बन्न सक्ने विज्ञहरुले औँल्याएका छन्। पुराना दल र नयाँ दलहरूले गत फागुन २१ गते सम्पन्न चुनावी घोषणा पत्रमा सय दिने कार्यसूचीमा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेसँगै नेपालबाट विदेशी कम्पनीका लागि आउटसोर्सिङ काम गर्ने क्रम बढ्दै गएको हो।
यसले नेपालमा आईटीको भविष्य सुखद रहेको देखाउँछ। पछिल्लो केही वर्षयता विश्वभर एआई अर्थात कृत्रिम बुद्धिमताको लहर वर्षेनी बढ्दै गए पनि नेपाल क्षेत्रीय एआई हब बन्न सक्ने बहसले यतिबेला नीतिगत र प्राविधिक तहमा स्थान पाउन थालेको छ।
नेपालमा जलविद्युत क्षमता, युवा जनशक्ति र अनुकूल हावापानीका कारण एआई र डाटा सेन्टरका लागि उपर्युक्त गन्त्वय बन्न सक्ने विज्ञहरुले बताउँदै आएका छन्। नेपालमा भएको ग्रीन ऊर्जा र रिन्युएबल ऊर्जालाई प्रयोग गरेर डेटा सेन्टर र क्षेत्रीय एआई हब बनाउन उपर्युक्त स्थान रहेको नेपाल उद्योग परिसंघका आईटी काउन्सिलका एडभाईजर अजित विक्रम शाहले बताए।
नेपालको ऊर्जा सस्तो, हरियो र नवीकरणीय भएकाले डेटा सेन्टरहरूलाई पावर गर्न उपर्युक्त छ। त्यसले एआई आधारित उद्योगहरू सुरु भएर नेपाललाई क्षेत्रीय हब बनाउन एउटा कडी हुने उनको बुझाइ छ।
क्षेत्रीय कोणबाट हेर्दा छिमेकी मुलुकमा ठूला प्रविधि केन्द्रबीच हुनाले सहजता हुने भएकाले क्षेत्रीय हबको रुपमा विकास गर्न सकिने भए पनि त्यसको लागि सरकारले विदेशी लगानीकर्तालाई आकर्षणको केन्द्र बनाउन समय सापेक्ष कानुन तथा नीतिगत पुनरावलोकन गर्न आवश्यक भएको शाहले बताए।
नेपालमा अस्थिर नीति र कर जरिवानाका कारण डेटा सेन्टर लगानी उच्च जोखिम हुने भएकाले विदेशी लगानीकर्ता आउन सकिरहेका अवस्था छैन। यसैले सरकारले लगानीमैत्री नीति बनाएर नेपाललाई क्षेत्रीय हब बनाउनका निम्ति आवश्यक पर्ने बजेट तथा रकम लगानी गर्न उचित वातावरण बनाउनतर्फ अग्रसर हुनुपर्ने उनको बुझाइ छ।
यता, नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज अर्थात नास आईटीका अध्यक्ष गौरव पाण्डेले नेपालले ढिलो चाडो एआईमा जानुपर्ने भए पनि मुख्य कुरा अहिले ट्यालेन्ट निर्माणमा अग्रसर हुनुपर्ने बताए।
स्कुलदेखि विश्व विद्यालयसम्मको पाठ्यक्रमलाई एआईमैत्री बनाउनपर्ने उनले बताए। नेपाललाई क्षेत्रीय एआई हब बनाउन सरकारले छोटो समयमा परिणाम ल्याउनका लागि विश्व विद्यालयमा एआईको पाठ्यक्रम निर्माण गर्ने र बजारमा एआई सम्बन्धीका दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ केन्द्रित हुनपर्ने आजको आवश्यकता छ।
सरकारले नेपाललाई क्षेत्रीय एआई हब बनाउन पहिलो प्राथमिकता ट्यालेन्ट दक्ष जनशक्ति र नेपाली कम्पनीलाई एआई र डेटा प्रविधिका लागि सहज र लगानी योग्य वातावरण बनाउन जोड दिनुपर्ने नास आईटीका अध्यक्ष पाण्डेको बुझाइ छ।
एआई हब बनाउन के गर्दै छ सरकार?
पछिल्लो केही वर्षयता विकशित देशहरुले छुट्टा छुट्टै एआई बनाइराखेका छन्। विश्वभर एआईको लहर चलिहँदा नेपालले आफूलाई एआई क्षेत्रीय हबका रुपमा प्रस्तुत गर्न जमर्को गरेको छ।
नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, ‘डेटा’ अर्थतन्त्र तथा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित राष्ट्रिय एआई नीति, राष्ट्रिय ‘साइबर’ सुरक्षा नीति तथा सूचना प्रविधिसम्बन्धी कानुनी तथा संस्थागत संरचनाको सुधारलाई तिब्रता दिएको सञ्चार तथा सुचना प्रविधि मन्त्री डा विक्रम तिमिल्सिनाले बताए।
सरकारले हालै कार्यान्वयनमा ल्याएको राष्ट्रिय एआई नीति २०८२ र पछिल्लो केही महिनाअघि स्थापना भएको राष्ट्रिय एआई केन्द्रले क्षेत्रीय एआई हब बन्नका निम्ति एउटा कोसे ढुंगा हुने देखिए पनि यसका लागि शिक्षा प्रणालीमा परिमार्जन, उच्च गतिको पूर्वाधारमा लगानी र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने राष्ट्रिय नीतिको खाँचो छ।-