काठमाडाैं। भित्ताभरि झ्याउ अनि पानी भरिएर पोखरीजस्तो बनेको पाटन दरबार स्क्वायर नजिकैको ‘सौगा हिटी’ रोटरी न्यातपोलाको अग्रसरतामा सरसफाइ र रङरोगन गरिएको छ।
ललितपुर महानगर प्रहरी, सौगाल टोल सुधार समिति र मंगलबजार प्रहरी चौकीको सहकार्य तथा रोटरी न्यातपोलका प्रविन महर्जनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।
‘हिटीमा करिब ३ फिट पानी जमेको थियो’, महर्जनले भने, ‘पहिलो चरणमा हिटीको पानी निकालियो, स्टील ब्रस र प्रेसरपम्पले सफा गरेपछि हिटी रङरोगन गरिएको हो। आवश्यक रङ केएनपी नेरोल्याकले सहयोग गरेको थियो।’
यो केवल सफाइ मात्र नभई सांस्कृतिक सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र संस्कृतिक सम्पदा संरक्षण गर्ने अभियान रहेको क्लबका अध्यक्ष विष्णुकान्त घिमिरेले बताए ।
अध्यक्ष घिमिरेले भने, ‘यस वर्ष हामीले सांस्कृतिक सम्पदा संरक्षण, बालबालिका लक्षित सहयोग र किसानसँग सहकार्य गर्ने गरी विभिन्न योजना बनाएका छौँ, सौगा हिटी सरसफाइबाट यसको सुरुआत भएको छ।’
रोटरी न्यातपोलको योजनामा आफ्ना पुर्खाले सिर्जेको सम्पदा संरक्षणको हिस्सा बन्न पाउँदा खुसी लागेको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
खानेपानी व्यवस्थापन गर्न १६औँ शताब्दीमा तत्कालीन राजा सिद्धिनरसिंह मल्लका भाइ रिद्धिनरसिंह मल्लद्वारा निर्माण गरिएको सौगा हिटी कलात्मक शिल्पकौशलको उत्कृष्ट उदाहरण पनि हो। २०२२ मा तत्कालीन राजा महेन्द्रले हिटीको जीर्णोद्धार गराएका थिए।