काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन्।
मनसुन सक्रिय हुन थालेको अवस्थामा बाढीपहिरोलगायतका मनसुनजन्य विपद् जोखिम उच्च भएकाले धनजनको क्षति हुन नदिन कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएर सरोकारवाला निकायलाई सतर्क र तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

सहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसहित बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले देशका विभिन्न भूभागका देखिएको मनसुनजन्य जोखिमको जानकारी लिए।
उनले हाल देशका विभिन्न स्थानको मौसम र सम्भावित जोखिमबारे जानकारी लिँदै पूर्वतयारीमा रहन, घटना घटिहाले क्षति हुन नदिन, खोज तथा उद्धारका लागि ‘हाइअलर्ट’ मा रहन निर्देशन दिए।
त्यस्तै, उनले सम्भावित जोखिम रहेको क्षेत्रमा एसएमएस अलर्ट, स्थानीय सञ्चार माध्यम र सुरक्षा निकायमार्फत पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनि ध्यानाकर्षण गराए।
बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख भट्टले लुम्बिनीको दाङ, बाँके, बर्दियामा पानी पार्ने प्रणाली सक्रिय रहेको जानकारी गराए। भारी वर्षा हुँदा बबई र राप्ती नदीको पश्चिम भागमा खतराको तह पार गरेकाले बर्दिया क्षेत्रमा अबको ४ देखि ५ घन्टामा डुबान पर्न सक्ने सम्भावना रहेको उनले बताए।
त्यस्तै, मधेस प्रदेशमा देखिएको खडेरीको अवस्थबारे पनि कार्यवाहक प्रधानमन्त्री सिंहले चासो राख्नुभएको थियो । सो क्रममा प्राधिकरणका प्रमुख भट्टले मधेसमा हल्का वर्षा भइरहेको र ८० प्रतिशत रोपाइँ भएको उनको भनाइ थियो।
बैठकमा आज राती कैलाली र कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेकोबारे पनि जानकारी गराइएको छ। पानी पार्ने अर्को प्रणाली मकवानपुरमा सक्रिय हुने आकलन गरिएको छ।
गृहमन्त्री लेखकले मनसुन्य विपद्लाई दृष्टिगत गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई अतिआवश्यकबाहेक कार्यक्षेत्र नछाड्न निर्देशन जारी गरिएको जानकारी दिए।
बैठकमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिलगायत सहभागी थिए।