काठमाडौं। बर्खायामसँगै हरियाली बढ्दो छ। हरियालीसँगै किराफट्यांङ्ररा खान आउने चराहरुको संख्या बढ्दा जहाजमा ठोकिने भय बढेको छ। जसको कारण साना–साना चराहरु जहाजमा ठोक्किँदा पनि ग्राउण्डेड गर्नुपर्ने बाध्यता एयरलाइन्स कम्पनीहरुमा रहँदै आएको छ।
बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले विमानस्थलमा बढ्दो चराको गतिविधिका कारण जहाजहरुमा समस्या आएको र ग्राउण्डेड गर्नुपर्ने बाध्यता आएको बताए। जनकपुर विमानस्थलमा विगत दुई दिनयता रात्रि उडानमा चरा ठोक्किएको र उडान अवतरणलाई निकै जोखिममय बनाएको उनले बताए।
साउनमा मात्र जनकपुर विमानस्थलमा चार पटक जहाजमा चरा ठोक्किएको, एक पटक स्याल ठोक्किएको र रनवेमा स्याल देखिएपछि जहाज काठमाडौं फिर्ता पठाउनु परेको घटना भएको उनले बताए।
बिहीबार बिहान पनि काठमाडौंदेखि भद्रपुर उडानमा चरा देखिएपछि जहाज ओभरसुट गर्नुपरेको जनाएको छ। चरा ठोक्किएपछि जहाजलाई परीक्षण र मर्मतसम्भार गर्दा थप समय खर्चिनुपर्ने बाध्यता कम्पनीमा रहेको छ। जसले गर्दा उडान विलम्व तथा रद्द गर्नुपरेको र समयमै उडान भर्न नपाउँदा विमान कम्पनी तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।
नियमित मर्मतसम्भार अत्यन्तै महंगो हुँदै गइरहेको अवस्थामा यस्ता समस्याले थप विमान कम्पनीहरुको आर्थिक व्ययभार बढाएको एयरलाइन्स सञ्चालकहरुको भनाइ छ। बुद्ध एयरले बर्ड तथा एनिमल एक्टिभिटिज रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल बाहिर सडेगलेका खाद्य पदार्थ, सिनो फाल्नेसहितको समस्याले किराफट्याङग्रा बढ्नुको साथै चराको संख्या पनि बढेको बताए। नियमअनुसार विमानस्थल भएको ३ किलोमिटरसँम्म मासु पसल सञ्चालन गर्न नपाउने उल्लेख छ।
विमानस्थल नजिकै मासु पसलसँग विभिन्न सेकुवा पसलहरु समेत निर्वाद सञ्चालनमा आउँदा चराको जोखिम बढेको उनको भनाइ छ। चरा धपाउनका लागि सिकारीहरु राखिरहेको बताउँदै वर्षातको समयमा अलि बढी चराको जोखिम हुने भएकाले जोगिएर उडान गर्न अनुरोध गरेका छन्।