काठमाडाैं। रुपन्देहीको तिलोत्तमाका युवाहरूले प्रांगारिक मलको उत्पादन सुरु गरेका छन्। यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्रांगारिक मलको उत्पादन सुरु गरेका हुन्।
‘जैको’ नामबाट बजारमा आएको यस मलको प्याकेट आकर्षक बनाइएको छ। सबैको सहजताका लागि एक किलोको प्याकेट बनाएर बजारमा ल्याइएको युवा बताउँछन्। हेक्टर र बिघामा खेती गर्ने किसानदेखि लिएर गमलाको फूलका लागि यो मल सजिलै प्राप्त गरी प्रयोग गर्न सकिन्छ।
नेपाल वायो कम्पोस्ट कम्पनीले उक्त मल बजारमा ल्याएको हो। पछिल्लो समय रासायनिक मलको बढ्दो प्रयोगले मानव स्वास्थ्य र माटोको उर्वरा शक्तिलाई खराब गरिरहेको अवस्थामा युवाहरूको सक्रियतामा मलको उत्पादन सुरु भएको हो। जैविक मलको प्रयोगले विस्तारै माटोको गुणस्तरमा सुधार ल्याउन सकिने उद्देश्यले उत्पादनमा सक्रिय बनेको कम्पनीका सदस्य राहुल पन्थीले बताए। “यसका लागि अहिलेसम्म तीन करोड रकम लगानी गरिसक्यौँ, अब भने विस्तारै प्रतिफल आउने आशमा छौँ”, उनले भने।
रासायनिक मलको व्यापक प्रयोगले माटोको अवस्था जीर्ण बनिरहेको अवस्थामा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा जोड दिइएको उनको भनाइ छ। “धेरैले जानी–जानी रासायनिक मलको प्रयोग गरिरहेका छन्। यसले माटो, मानव स्वास्थ्य मात्र नभई वातावरणमा भएका समग्र जीवजन्तुलाई असर गरिरहेको छ। फलस्वरूप पारिस्थितिक प्रणाली प्रभावित भएर त्यसको असर वातावरणका सम्पूर्ण जीवले भोगिरहेका छन्”, उनले भने।
‘जैको’ प्रांगारिक मलको उत्पादनले मानवसँगै सम्पूर्ण जीवजन्तु र माटोले नयाँ जीवन प्राप्त गर्ने आशा रहेको कम्पनीका सदस्य पन्थीले बताए। दिनानुदिन रासायनिक मलका प्रयोगकर्ता बढिरहनु, रासायनिक मलले उत्पादन छिटो र बढी दिने वर्तमान अवस्थामा प्राङ्गारिक मलको प्रयोगलाई बढाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ।