धनुषा। धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यका साथ धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका विभिन्न जातको परीक्षण सुरु गरेको छ। ‘कोपिया परियोजना’ अन्तर्गत धनुषाको बटेश्वरमा किसानसँगको सहकार्यमा यो परीक्षण अघि बढाइएको हो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की वरिष्ठ वैज्ञानिक डा पल्लवी सिंहका अनुसार जलवायु परिवर्तनका कारण खेती प्रणालीमा देखिएका चुनौतीलाई सम्बोधन गर्न छिटो पाक्ने र उत्पादन क्षमता बढी हुने धानका जातको खोजी तथा परीक्षण थालिएको हो। “परीक्षण सफल भए उत्पादन वृद्धि मात्र होइन, समयमै बाली भित्र्याउन सकिने भएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्छ”, उनले बताए।
वरिष्ठ वैज्ञानिक डा सिंहका अनुसार किसानको अनुभवलाई अनुसन्धानसँग जोड्न बटेश्वरमा प्रत्यक्ष खेतमै धानका बिरुवा रोपिएको छ। परीक्षणमा सहभागी किसानले आफ्नै खेतमा विभिन्न जातका धान रोपेर तिनको वृद्धि, उत्पादन क्षमता तथा रोगप्रतिरोधी अवस्थाको अवलोकन गरिरहेका छन्। किसानका अनुभव, आवश्यकता र प्राथमिकताका आधारमा उपयुक्त जात छनोट गरिने व्यवस्था गरिएको छ।
अनुसन्धान कार्यक्रम हर्दिनाथका सूचना अधिकारी तथा वरिष्ठ प्राविधिक रवेन्द्रप्रसाद साहले हालसम्म छोटो अवधिमा उत्पादन दिने धानमध्ये ‘हर्दिनाथ–१’ प्रमुख जात रहेको जानकारी दिए। उनका अनुसार उक्त जात करिब १०५ दिनमै पाक्ने गर्दछ। “यसभन्दा कम अवधिमा तयार हुने धानको पहिचान गर्ने लक्ष्यका साथ परीक्षण अघि बढाइएको हो”, उनले भने।
अनुसन्धान केन्द्रको परिसरका साथै चयन गरिएका किसानका खेतमा समेत विभिन्न धानका जात रोपेर परीक्षण भइरहेको छ। यसले प्रयोगशालामा सीमित अनुसन्धानलाई खेतसम्म विस्तार गर्दै किसानको व्यावहारिक अनुभवलाई अनुसन्धान प्रक्रियामा समेट्ने काम गर्ने विश्वास गरिएको सूचना अधिकारी साहको भनाइ छ।
स्थानीय हावापानी अनुकूल, कम पानीमै उत्पादन दिन सक्ने तथा जलवायु परिवर्तनसँग अनुकूलित धानका जात पहिचान गर्न यस परीक्षणले सहयोग पु¥याउने अपेक्षा गरिएको छ। साथै, विशेषगरी चैते धानको उत्पादन वृद्धि गर्न जोड दिइएको उल्लेख गर्दै सूचना अधिकारी साहले यसले वर्षभरि धान उत्पादन प्रणाली सुदृढ बनाउने, खाद्य सुरक्षामा टेवा पु¥याउने तथा किसानको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।