काठमाडौं। नेपाल राष्ट्र बैंकले सवारी साधान र ढुवानीका साधान आयातसम्बन्धी नीतिमा कडाई गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै नयाँ व्यवस्था लागू गरिएको हो। यो व्यवस्थाअनुसार अब नयाँ सवारी साधान र ढुवानीका साधान नेपालस्थित आधिकारिक बिक्रेताले मात्र आयात गर्न पाउने छन्।
विभागद्वारा जारी परिपत्रअनुसार अब कुनै पनि व्यक्ति वा संस्थाले सीधैँ विदेशबाट नयाँ सवारी साधान ल्याउन पाउने छैनन्। निर्माता कम्पनी वा त्यसको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ गाडीहरू नेपालका आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउने छन्।
यस्तै, राष्ट्र बैंकले पुराना गाडी आयातमा रोक लगाइको छ। संशोधित व्यवस्थाले रिकन्डिसन, प्रयोग भइसकेका वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने गाडीहरू आयात गर्न पूर्ण रूपमा रोक लगाएको छ।
यद्यपि, सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम सडकमा नचल्ने वा दर्ता गराउनु नपर्नेको हकमा भने उल्लेखित नियम लागू नहुने राष्ट्र बैंकले उल्लेख गरेको छ। जसमा सरकारी निकाय, कुटनीतिक वा महसुल सुविधा पाएका व्यक्ति वा संस्था र ऋण तथा अनुदानमा सञ्चालित सरकारी परियोजनाले गाडी आयात गर्दा यो नियम लागू हुँदैन।
यस्तै, अपांगता भएका व्यक्तिले आफ्नो प्रयोजनका लागि स्कुटर, दमकल (बारुण यन्त्र) आयात गर्दा र एम्बुलेन्स तथा विशेष प्रयोजनका गाडी, नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम अन्तर्राष्ट्रिय वा क्षेत्रीय सभा/सम्मेलनका लागि प्रदूषण मापदण्ड पूरा गरेका गाडी आयात गर्दा यो नियम लागू हुने छैन।
साथै, सरकारको निर्णयअनुसार पूर्ण वा आंशिक भन्सार महसुल छुट पाएका व्यक्ति वा संस्थाले गाडी आयात गर्दा पनि यो नियम लागू हुने छैन।