काठमाडौं। भूमि समस्या समाधान आयोगले बाँकेमा एक हजार १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरेको छ।
जिल्लाको कोहलपुर नगरपालिका–१ मा विभिन्न चरणमा गरी उनीहरुलाई जग्गा धनी प्रमाणपूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए। उनका अनुसार तीमध्ये आठ सय ९६ जना अव्यवस्थित बसोबासी र एक सय १७ जना भूमिहीन दलित र भूमिहिन सुकुम्वासी रहेका छन्।
अव्यवस्थित बसोबासीले बढीमा रु पाँच लाखसम्म राजस्व तिरेर र सबैभन्दा कम १२ हजारसम्म राजस्व तिरेर जग्गाको जग्गाधनी प्रमाणपूर्जा लिएको उनको भनाइ छ। “अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकालाई लालपूर्जा वितरण जारी छ”, अध्यक्ष खनालले भने।
उनका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४, बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएर पूर्जा वितरण अघि बढाइएको छ।
जिल्लाको राप्तीसोनारी ३, ५, ७ र ९, बैजनाथ ७ र ६, खजुरा ४ र ५ नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा सकेर पुर्जा वितरण सुरु गर्न थालिएको अध्यक्ष खनालले बताए। राप्तीसोनारी–१, बैजनाथ–१, जानकी–४, नेपालगञ्ज–१८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ।