नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती सुरु गरिएको छ। गैंडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रूपमा चिया खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ।
गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले १८ वडा रहेको यस पालिकाको पहाडी क्षेत्रमा पर्ने बसेनी गाउँमा परीक्षणका लागि ७५०० चियाको बिरुवा लगाइएको बताए।
पहाडी क्षेत्र भएकाले यहाँको भूगोल र हावापानी उपयुक्त भएकाले परीक्षणका लागि चिया खेती सुरु गरिएको उनको भनाइ छ। ‘गैंडाकोटको यो १८ नम्बर वडा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो’, उनले भने, ‘यसै वर्षदेखि यहाँ पूर्वाधार विकास गरेर भविष्यमा बसेनीलाई पर्यटकीय गाउँको रूपमा विकास गर्ने नगरको योजना छ।’
गैंडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले नगरपालिका प्राकृतिक रूपमा सुन्दर र हावापानीले विविधताले भरिपूर्ण पालिका भएको बताइन्। हाल व्यक्तिगत र सामुदायिक रूपमा बसेनीमा चिया खेती गरिएको उनको भनाइ छ।
गैंडाकोटमा पर्ने पूर्वपश्चिम राजमार्गबाट आधा घन्टाको दूरीमा नै चिसो हावापानी र बाह्रै महिना जाडो हुने क्षेत्र रहेको भन्दै उनले गर्मी र जाडो दुवै हावापानी भएकाले यहाँ पर्यटकीय सम्भावना रहेको धारणा व्यक्त गरिन्।
बसेनीमा चिया बगान, सुन्तला खेती बिस्तार, घरबास (होमस्टे) सञ्चालन गरी पर्यटकीय क्षेत्र बनाउने अवधारणाअनुसार अगाडि बढेको उनले बताइन्।
गैंडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले बसेनीमा चिया उत्पादन गरेर बिक्री गर्नुभन्दा पनि पर्यटकीय दृष्टिकोणले खेती गरिएको जानकारी दिए। यसैवर्षदेखि यहाँ होमस्टे निर्माण गर्ने योजना रहेको जनाउँदै शर्माले होमस्टेमा आउने पर्यटकलाई लक्षित गरेर उपहारका लागि चियाको ब्रान्डिङ गरिने बताए।
चिया बगान हेर्न इलाम नै जानुपर्ने अवस्था अन्त्य गर्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न चिया खेती सुरु गरिएको उनको भनाइ छ।
जिल्लाकै विकट गाउँको रूपमा रहेको यस वडामा पछिल्लो समय विकास निर्माणका पूर्वाधार निर्माण हुँदै गएपछि आवागमनसमेत सहज भएको उनको भनाइ छ।-रासस