काठमाडौं। विश्वप्रसिद्ध ठूला प्रविधि कम्पनीले प्रविधिमा काम गर्ने कर्मचारीको ठूलो संख्यामा कटौती गरिरहँदा नेपाली कम्पनीमा पनि यस्तै अवस्था आउन सक्ने चिन्ता थपिएको छ। विश्व बजारमा चलेको एआई प्रतिस्पर्धा तथा नेपालमा भित्रिन चाहने विदेशी कम्पनीमाथि परेको नीतिगत दबाब र प्रकृयागत झन्झटले प्रविधिमा काम गर्ने कर्मचारी कटौती हुने त्रास बढेको हो।
आईटी विज्ञ हेमपाल श्रेष्ठका अनुसार पछिल्लो २ वर्षदेखि विश्वव्यापी रूपमै यस क्षेत्रमा काम गर्ने कर्मचारीको भविष्य संकटमा देखिन थालेको छ। ठूला र विकसित देशमा विकसित हुँदै गरेको एआई प्रतिस्पर्धा र प्रविधिमाथि निषेधजस्ता कारणले बजारमा संकुचन आउँदा नेपालमा असर पर्ने देखिएको हो।
नेपालमा संकुचन आउनुको मूख्य कारण नेपाली कम्पनीहरूले विदेशमा बजार विस्तार गर्दै स्वदेशमा काम ल्याउन समस्या हुनु तथा नेपालमा सञ्चालन भएका तथा हुन चाहने कम्पनीमा नीतिगत दबाब मुख्य कारण भएको उनको भनाइ छ।
‘आईटी कम्पनीबारे पछिल्लो समय सार्वजनिक रूपमा राम्रै कुरा आइरहेको छ। तर, अहिले यथार्थ अलि फरक छ। आईटीको पूरै उद्योगमै जनशक्तिको संकुचन भइरहेको छ। फेसबुक, माइक्रोसफ्टजस्ता कम्पनीले लगातार कर्मचारी कटौती गरिरहेको छ,’ उनले भने, ‘नेपालमा पनि च्यालेन्जिङ भइरहेको छ। बढ्ने अवस्था छैन बरु केही कम्पनीमा आफै घटिरहेको अवस्था छ।’
तर, नेपालले अन्य क्षेत्र साइबर सेक्युरिटी, डिजिटल मार्केटिङ र एआईका क्षेत्रमा समेत काम गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सेवा र प्रोडक्ट दिइरहेकाले ब्यालेन्स भइरहेको उनको भनाइ छ।
‘जुन हिसाबले हामीले सोचेका थियौं। त्यो हिसाबले हाई ग्रोथ हुन सकेको छैन। सामान्य ग्रोथ मात्रै छ। साइबर सेक्युरिटी, डिजिटल मार्केटिङ र एआई क्षेत्रमा समेत काम गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सेवा र प्रोडक्ट दिइरहेको छ। यसले अलिकति ब्यालेन्स गरेको छ। एआई र अन्तर्राष्ट्रिय अस्वस्थ प्रतिस्पर्धाले नेपालको पनि आईटी क्षेत्रमा संकुचन भएको छ,’ उनले भने।
पछिल्लो समय आईटी क्षेत्र एकैपटक लाइमलाइटमा आउँदा धेरै अपेक्षा राखिएको तथा सरकारले पूरा गर्नुपर्ने जिम्मेवारी सतही हुने र ग्राउन्डमा काम नहुने हुँदा समस्या भएको उनको भनाइ छ।
‘नेपाली कम्पनी बाहिर जान पाउने भनेको छ। तर, अहिले हामी कसैले पनि व्यावहारिक रूपमा बाहिर जान सकेको कम्पनी खोल्न र लगानी लैजान सकेको अवस्था छैन,’ उनले भने, ‘बजार खोज्नै समस्या हुँदा बिजेनस बढ्दैन, बिजनेस नै नबढे रोजगारी सिर्जना पनि हुन सक्दैन।’
उनले थपे, ‘ऊर्जालाई केही समय अझै लाग्ला। कृषि घट्दो छ तर आईटी मात्रै एउटा यस्तो क्षेत्र हो, यसलाई कुनै भौगोलिक क्षेत्रले फरक नपारी गर्न सकिने उद्योग हो। यसमा राज्य गम्भीर हुन जरुरी छ।’
अन्तर्राष्ट्रिय रिसर्च संस्था ब्लुमबर्गका अनुसार यसरी कर्मचारी कटौती गर्नेमा विश्व बजारका प्रमुख कम्पनी नै अगाडि छन्। फेसबुकको माउ कम्पनी मेटा, माइक्रोसफ्ट गुगललगायत ठूला कम्पनीले समेत जनशक्ति घटाइरहेका छन्।
त्यस्तै, नेपालमा आएर कम्पनी स्थापना गरेका कम्पनीलाई सरकारी नीतिगत दबाब र सहजीकरण नहुँदा ठूलो लगानीमा आउने तथा रोजगार सिर्जना गरिरहेका कम्पनी नै बन्द हुँदा अपेक्षाकृत ग्रोथ हुन नसक्ने उनको भनाइ छ।
‘सफ्टवेयर विक्रि गर्छौं भने बंगलादेशजस्ता देशले निर्यात गरेबापत सब्सिडी (अनुदान) खातामै दिने गर्छ। नेपाालमा सब्सिडीको कुरा त परै जाओस्। भ्याटकै इस्यू छ। कोटीभिटीजस्ता केसलाई सल्टाउन सकेको भए राम्रो हुन्थ्यो। उक्त मुद्दाका कारण आईटी क्षेत्र एकदम निरुत्साहित भएको छ,’ उनले भने।
राजस्व अनुसन्धान विभागले सूचनाप्रविधि (आईटी) सेवा निर्यात गर्ने कोटिभिटी नेपाल प्रालिले भ्याट छली गरेको भन्दै २०८० चैतमा बिगो र जरीवानासहित साढे १० अर्ब रुपैयाँको मुद्दा दायर गरेको थियो। जसका कारण एकैपटक धेरै कर्मचारीले जागिर गुमाउनुपर्यो।
६०० भन्दा बढी आईटी इन्जिनीयरलाई रोजगारी दिइरहेको अहिले भारत सिफ्ट भएको छ। विभागले मुद्दा हालेपछि यो क्षेत्र आतंकित बनिरेहको छ। अहिले पनि केहि आउन चाहने कम्पनीलाई कम्पनी दर्ता, डिभिडेन्ड फिर्ताजस्ता प्रकृयागत झन्झटका कारण नेपाल आउन नचाहेको श्रेष्ठ बताउँछन्।
कोटीभिटी केसकै कारण नेपालमा आउन चाहेको अर्को ठूलो अमेरिकी कम्पनी एक्सेन्चर रोकिएको अर्को उदाहरण भएको नेपाल एशोसियसन फर सफ्टवेर एन्ड आईटी सर्भिसेस कम्पनी (नासआईटी)का उपाध्यक्ष गौरव पान्डे बताउँछन्। यति मात्रै होइन, अन्य देशमा रहेका कम्पनी खरिद गर्ने तर नेपालमा कुनै पनि कम्पनी किन्न वा मिलेर काम नगर्ने बताएको थियो।
एक्सेन्चर विश्वकै अग्रणी सूचना प्रविधि सेवा र परामर्श प्रदान गर्ने बहुराष्ट्रिय कम्पनी हो। यो कम्पनीले विश्वभर रहेका आफ्ना ७ लाख २० हजार कर्मचारीमार्फत डिजिटल रूपान्तरण, सफ्टवेयर विकास, कृत्रिम बौद्धिकता क्लाउड कम्प्युटिङ, व्यवसाय रणनीति, वित्त, मानव संसाधन सेवा जस्ता क्षेत्रमा काम गर्दै आएको छ।
उसले मुख्य डेभलपमेन्टको काम नै नेपालमै गर्ने तयारी थालिरहेका बेला कोटी भिटी केसकै कारण पछि हटेको पान्डेको बुझाई छ।
पान्डेका अनुसार एक्सेन्चर जस्तो कम्पनी नेपाल आइदिएको भए यस्ता सयौं कम्पनी नेपाल आउने अवस्था बन्ने थियो।
तर, कोटीभिटी केसले बाटो नै बन्द गरिदिंदा यो क्षेत्रले ठूलो क्षति व्यहोर्न परेको उनको भनाई छ। ’नेपाल आउने तयारीमा रहेको विश्वकै ठूलो कम्पनी कोटीभिटी केसकै कारण पछि हट्यो, यसले देशलाई र यो क्षेत्रलाई नै ठूलो क्षति भएको छ, ’उनले भने, ’एक्सेन्चर आइदिएको भए अन्य सयौं कम्पनी पनि आउने वातावरण बन्थ्यो, विश्वले कामदार कटौती गर्दा हामिले थपिरहेका हुन्थ्यौ होला, हामी चुक्यौं।’
पान्डेले थपे,’नेपालको आईटी क्षेत्रमा अहिले १ लाख कर्मचारी होलान् ५ वर्षमा ५ लाखले बढाउने भनेको छौं, यो आफैमा ५०० प्रतिशत बढी हो। यसभन्दा बढि नेपालकै कम्पनीमात्रै रोजगारी सिर्जना गर्न मुस्किल छ। त्यसैले ठुला विदेशी कम्पनीलाई आउने बाटो सहज बनाउनैपर्छ, यसका लागि कोटीभिटीको मूद्दा छिटो भन्दा छिटो टुङगिन जरूरी छ।’
स्वदेशी कम्पनीलाई नै छैन सहज
आईटी विज्ञ श्रेष्ठका अनुसार विदेशी कम्पनीलाई मात्रै नभइ स्वदेशी कम्पनीलाई पनि स्वदेशमा काम गर्न सहज छैन । विदेशमा कम्पनी खोल्ने सुविधा दिइएको भनिए पनि टुरिष्टकै रूपमा विदेशमा गएर आफ्नो प्रडक्टको ब्रान्डिङ मार्केटिङ र गर्ने र विक्री गर्नुपर्ने अवस्था यथावत छ । यसमा सरकारले सुधार गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै कम्पनी रजिष्ट्रारको काम, लगानी र नविकरणका काममा सहज गरिदिनुपर्नेमा यी सबै काम गाह्रो हुने गरेको उनको भनइ छ। ’हामी डिजटलमा गयौं भनेका छौं तर यसले अफ्ठ्यारा झन बढाएको छ । पहिले एक दुईदिनमा काम हुन्थ्यो अहिले हप्तौं लाग्न थालेको छ, ’उनले भने, ’कागजमा भनिएको छ तर प्राक्टिकल्लि भने काम भएको छैन । यसमा राज्यबाटै काम गर्न सहज भयो भने हाम्रो कष्ट अफ प्रडक्सन कम हुन्छ र हामी अन्तर्राष्ट्रिय आईटी मार्केटमा प्रतिस्पर्धा गर्न सक्छौं ।’
विश्वप्यापी टेक कर्मचारी कटौतीको मारमा
हालै विश्वको ठूलो चिप निर्माता मध्यको एक ठूलो कम्पनी इन्टेलले समेत २२ प्रतिशत बढि कर्मचारी हटाउने बताएको छ । कम्पनीले ओहायोमा निर्माणाधीन कारखानाको गति कम गर्ने, पोल्याण्ड र जर्मनीका योजनाबद्ध नयाँ कारखानाहरू स्थगित गर्ने र कोस्टारिकास्थित प्याकेजिङ्ग इकाईलाई मलेसिया र भियतनाममा गाभ्ने योजना बनाएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय रिसर्च संस्था ब्लुमबर्गका अनुसार यसरी कर्मचारी कटौती गर्नेमा विश्व बजारका प्रमुख कम्पनी नै अगाडि छन्। फेसबुकको माउ कम्पनी मेटा, माइक्रोसफ्ट गुगललगायत ठूला कम्पनीले समेत जनशक्ति घटाइरहेका छन्। प्रविधि कम्पनी माइक्रोसफ्टले केही समयअगाडि खर्च घटाउने उद्देश्यले विश्वभरका आफ्ना ९ हजार कर्मचारीलाई पदबाट हटाउने घोषणा गरेको थियो। करिब २ लाख २८ हजार कर्मचारी रहेको कम्पनीले यसअघि मे महिनामा लगभग ६ हजार कर्मचारी कटौती घोषणा गरेको थियो।
जुमईन्फोले अमेरिकास्थित कार्यालयमा १५० कर्मचारी हटाएको छ भने डिज्नीले पनि आफ्नो प्रविधि र प्रोडक्ट विभागबाट २ प्रतिशत कर्मचारी घटाएको छ। डेटिङ एप ’बम्बल’ले सबैभन्दा ठूलो कटौती गर्दै ३० प्रतिशत कर्मचारी (करिब २४० जनाको जागिर) हटाउने घोषणा गरिसकेको छ।
२०२५ को पहिलो ६ महिनामै १४७ भन्दा बढी प्रविधि कम्पनीले करिब ६३ हजार ४४३ कर्मचारीको रोजगारी कटौती गरेका छन्। यो तथ्यांकले महामारी पछिको आर्थिक सुधारको अपेक्षा विपरीत प्रविधि क्षेत्र अझै दबाबमा रहेको विश्लेषण भइरहेको छ। कम्पनीले लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम)को प्रशिक्षण, सर्भर र डाटा सेन्टरहरू निर्माण गर्ने र एआईमा थप विकास गर्न अर्बौं डलर खर्च गरिरहेका छन्।