पर्सा। पर्साका सखुवाप्रसौनी गाउँपालिका–२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो। तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उहाँले सबै खेतमा धान रोपिसके।
‘अकासे पानी पर्नुअघि नै साढे ९ बिघामा जेनतेन रोपाइँ गरिसकेका थियौं तर, डेढ बिघामा लगाएको चैते धान भित्राउन ढिला भएकाले रोपाइँ गर्न सकेका थिएनौं’, उनले भने, ‘एक सातायता यहाँ दिनहुँजसो पानी परेसँगै बाँकी खेतमा पनि धान रोपेका छौं।’ उनले ढिलै भए पनि अकासे पानी परेपछि यहाँका किसान उत्साही भएको बताए।
‘एक त चैतेधान भित्र्याउनै ढिलो भयो, अर्काेतर्फ नियमित बिजुली नआउँदा पनि बोरिङमार्फत पानी निकालेर रोप्न गाह्रो भयो’, उनले भने। मधेस प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवले मधेस प्रदेशमा अकासे पानी परेसँगै धान रोपाइँ धमाधम भइरहेको बताए।
‘साउन १६ सम्म मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये ५७ दशमलव २७ प्रतिशतमा मात्रै धान रोपाइँ भएको थियो। पछिल्लो एक सातामा थप १९ दशमलव २७ हेक्टरमा धान रोपाइँ भएको छ’, वरिष्ठ वागवानी अधिकृत यादवले भने।
निर्देशनालयका अनुसार साउन २३ सम्म मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ कुल ७६ दशमलव ५४ प्रतिशत अर्थात दुई लाख ८५ हजार दुई सय ३४ हेक्टर क्षेत्रफलमा भएको छ। सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहटमा ८५ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको छ।
सर्लाहीमा पनि ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले अकासे पानी परेपछि पर्सामा धान रोपाइँ अन्तिम चरणमा पुगेको बताए। उनले भने, ‘पानी परेपछि धान रोपाइँ राम्रो भएको छ, केही दिनसम्म नियमित पानी परे धान रोपाइँमा थप सहज हुन्छ।’
अकासे पानी परेसँगै बाराका कृषकमा पनि उत्साह थपिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले बताए। ‘अकासे पानी परेसँगै धानको रोपोलाई धेरै हदसम्म राहत भएको छ। धान नरोपिएको ठाउँमा पनि धमाधम रोपाइँ भइरहेको छ।’
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले अकासे पानी परेसँगैसर्लाहीमा ७५ प्रतिशत धान रोपाइँ भएको बताए। ‘पानी नपर्दा खेतमा धाँजा फाटेको थियो, अहिले पानी परेपछि सुकेको रोपो पलाउने आशा जगाएको छ’, उनले भने।–रासस