काठमाडौं। अस्ट्रेलियामा दुई युवाले सञ्चालन गरेको आईटी कम्पनी आईटी टुगेदर टेक्नोलोजीले एक वर्षमै ‘आउटस्टान्डिङ न्यू बिजनेस अवार्ड’ जित्न सफल भएको छ।
२६ वर्षीय दुई नेपाली युवाले सञ्चालन गरेको आईटी कम्पनीले एक वर्षकै अवधिमा ‘आउटस्टान्डिङ न्यू बिजनेस अवार्ड’ जितेपछि अष्ट्रेलियामा धेरैको ध्यान तानिरहेको छ।
अस्ट्रेलियामा अवधिमा ‘आउटस्टान्डिङ न्यू बिजनेस अवार्ड’लाई विशेष महत्त्वका साथ हेरिने भएकाले छोटो अवधिमै पुरस्कृत हुँदा धेरैले चासो र उत्साहका साथ हेरिरहेका हुन्।
आईटी टुगेदर कम्पनी ओम राउत र प्रदीप दाहालले संयुक्त रुपमा सञ्चालन गर्दै आएका छन्। राउत कम्पनीका निर्देशक हुन् भने दाहाल एसिया प्यासिफिक क्षेत्रका सीईओ हुन्। कम्पनीले अष्ट्रेलियाका साना तथा मध्यम व्यवसायलाई आईटी सपोर्ट र एजेन्टिक एआई सेवा दिँदै आएको छ।
अवार्ड हासिल गरेपछि कम्पनीका निर्देशक राउत र सीईओ दाहालले खुसी व्यक्त गरे । ‘यो हाम्रो मात्र हैन, आमनेपाली युवाको शान हो। हामी एआईबाट सञ्चालित छौं, तर मानव समर्थनमा भर पर्छौं,’ निर्देशक राउतले भने, ‘हाम्रोमा विश्वास गर्ने सबै ग्राहकलाई धन्यवाद। अबको भविष्य एजेन्टिक एआई हो र हामी साना व्यवसायलाई छिटो अगाडि बढ्न सहयोग गरिरहेका छौं।’
सो आईटी कम्पनीमा काम गर्ने धेरैजसो प्राविधिक(टेक्निकल) स्टाफ नेपालमै रहेका छन्। उनीहरुले नेपालमै बसेर अस्ट्रेलियाका ग्राहकलाई सेवा दिइरहेका छन्।
‘यो अवार्डले देखाउँछ कि नेपाली युवाले पनि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता देखाउन सक्छन,’ सीईओ दाहालले भने, ‘नेपालमा बसेर अस्ट्रेलियामा व्यवसाय सफलतापूर्वक चलाउनु भनेको क्षमता र दृष्टिकोणको जित हो।’
आईटी टुगेदर टेक्नोलोजीले अवार्ड जितेपछि उनीहरुसँग आबद्ध सबै कम्पनीले खुसी व्यक्त गरेका छन्। क्लिक कन्स्लटिङ ग्रुप आईटी टुगेदरले हाम्रो सामाजिक सन्जाल, लिड जेनेरेसन, र अटोमेसनमा काम गरिदिएकामा बधाई दिँदै भनेको छ, ‘हाम्रो कामको बोझ २५५ ले घटेको छ।’
यस्तै, चर्चिल इन्सिच्यूट अफ हायर एजुकेशनले पनि आइटी टुगेदरले दिएको सेवा वास्तवमै प्रभावकारी रहेको जनाएको छ। ‘साइबर सुरक्षा, आईटी सपोर्ट, अटोमेसन सबैमा। व्यवसायमा मूल्य थपिएको कुरालाई संख्याले प्रमाणित गर्छ।’ यो सफलताले देखाउँछ कि नेपाली युवाले पनि प्रविधिको माध्यमबाट विश्वव्यापी सफलता प्राप्त गर्न सक्छन।
कसरी पाउँछन् यो अवार्ड?
स्थानीय सरकारले प्रदान गर्ने अवार्डका लागि सार्वजनिक रुपमा मनोनयन गर्नुपर्छ। ती मनोनयन भएका कम्पनीलाई सार्वजनिक रुपमा मत हाल्नुपर्छ र विशेषज्ञले कामको मूल्यांकनसमेत गर्ने गर्छन्।
यसले व्यवसायको विश्वास, नाम र अवसर दुवै बढाउने भएकाले पनि अवार्ड निकै महत्त्वपूर्ण हुन्छ।