काठमाडौं। आइएमई मोटर्सले ९ महिनामा सावा दुई अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा दुई अर्ब २१ करोड ६० लाख रुपैयाँको (अपरिस्कृत) व्यापार गरेको हो।
कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्र ढकालको आइएमई ग्रुपको लगानी छ। भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण आइएमई मोटर्स हो।
आइएमई मोटर्सले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकल (सिभी)मा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स (आइसिभिएस्), लाइट कमर्सियल भेहिकल्स (एलसिभिएस्), मिडियम कमर्सियल भेहिकल्स (एमसिभिएस्), ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्छ।
यो कम्पनी सुरुवातमा एलटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको नाममा डिस होम (डिजिटल टिभी)को डिलरसिपसहित स्थापना भएको थियो। पछि सन् २०१७ मा यसको नाम परिवर्तन गरी आइएमई मोटर्स प्राइभेट लिमिटेड (आइएमपिएल) राखियो। अशोक लेल्यान्डको डिलरसिप भने सन् २०१५ देखि थपिएको हो।
सन् २०१० मा स्थापित आइएमई मोटर्सले आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो। साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो।
आइएमई मोटर्सले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ। जसमा दुई अर्ब १२ करोड ९० लाख रुपैयाँ दीर्घकालीन कर्जामा ‘एनबिआइनस’ र एक अर्ब १२ करोड १० लाख रुपैयाँ अल्पकालीन कर्जाको लागि ‘एफोर’ पुनः पुष्टी भएको छ।
इक्राले कम्पनीलाई एक वर्षअघि दिएको रेटिङलाई नै पुनः पुष्टी गरेको हो। कम्पनीले सन् २०२४ को जुलाइमा तीन अर्ब ४० करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको थियो।
कम्पनीले प्राप्त गरेको दीर्घकालीन कर्जामा ‘एनबिआइनस’ले कर्जा तिर्ने क्षमता कमजोर रहेको संकेत गर्छ। कम्पनीमा केही आर्थिक उतार चढावले वित्तीय अवस्था तत्काल कमजोर हुने रेटिङ रिपोर्टमा उल्लेख छ।
यस्तो रेटिङ भएको कम्पनीलाई कर्जा दिँदा बैंक तथा वित्तीय संस्थाहरूले सावधानी अपनाउनुपर्ने हुन्छ। साथै, अल्पकालीन कर्जाका लागि ‘एफोर’ले भने छोटो अवधिको वित्तीय दायित्व भुक्तानी गर्न सक्ने क्षमता सबल नै रहेको संकेत गर्छ।
कम्पनीको वित्तीय संरचनामा ऋणको भार बढी हुनु, पछिल्ला वर्ष कम्पनीले ऋणमार्फत् हुने सञ्चालन खर्च बढाएको र ऋण भुक्तानी सूचकहरु कमजोर हुनुले इक्राले उक्त रेटिङ प्रदान गरेको रिपोर्टमा उल्लेख गरेको छ।
रेटिङ रिपोर्टका अनुसार आइएमई मोटर्सले लामो समयदेखि बजारमा उधारोमा सवारी साधान बिक्री गरिरहेको छ। जसले कम्पनीको तरलतामा दबाब बढ्दै गएको र चालु खर्च ऋणमार्फत चलाउनु परेको छ।
यद्यपि, पछिल्लो समय नेपालमा भारतको अशोक लेल्यान्ड ब्रान्डले नेपालमा परिचित भई माग बढ्दै गएको छ। यसले आइएमई मोटर्सको व्यापार अघिल्लो वर्षको तुलनामा बढेको छ। भविष्यमा थप बढ्ने अपेक्षा गरिएको छ।