तनहुँ। भानु नगरपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गर्ने भएको छ। ‘भानु गुन्द्रुक’ ब्रान्ड निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पुर्याउने योजना बनाएको हो।
कृषिमा रुपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए।
इलामको रोेङ गाउँँपालिकाको अध्ययन भ्रमणपछि प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढंगले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताए।
गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम् प्रविधि तथा व्यवस्थापन प्रणाली प्रयोग गर्ने जनाइएको छ। यसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रिय स्तरको ब्रान्ड निर्माण गर्ने उनले जानकारी दिए।
उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवर्द्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ। किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीको भनाइ छ।
‘गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ’, उनले भने, ‘हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौं।’
भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा टेवा पुर्याउने विश्वास गरिएको छ। रैथाने खेतीलाई अभियानले प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।-रासस