काठमाडौं। गोल्छा ग्रुपअन्तर्गतको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले खुद नाफा १२१.८७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले २१ करोड ७८ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
उद्योगी शेखर गोल्छा अध्यक्ष रहेको उक्त कम्पनीले गत वर्ष ४५ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ४० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। एक वर्षे अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६१.३७ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिमा कम्पनीले ८ अर्ब २ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २२ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ३३ करोड कर्जा प्रवाह गरी १३ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको थियो।
उक्त अवधिमा कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ खुद सञ्चालन नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद सञ्चालन नाफा ३२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको थियो।
यस्तै, अघिल्लो वर्ष कम्पनीको ५.७८ प्रतिशत निष्कृय कर्जा गत वर्ष ३.४० प्रतिशत कायम भएको छ। समीक्षा अवधिमा कम्पनीको कष्ट अफ फण्ड ६.४० प्रतिशत, स्प्रेडरेड १.८८ प्रतिशत, रिटन अन इक्युटी १४.६१ प्रतिशत रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी २६.२५ रुपैयाँ र नेथवर्क प्रतिसेयर १७९.६३ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.२७ रुपैयाँ र नेथवर्क प्रतिसेयर १५५.६१ रुपैयाँ रहेको थियो।
कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने एनएमबी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। कम्पनीले राष्ट्र बैंकबाट गैरबैंकिङ कम्पनीको इजाजतपत्र लिएर सन् २०१२ देखि ग्राहकलाई हायर पर्चेज सेवा दिँदै आएको छ।