काठमाडौं। नेपालमा पछिल्लो समय गहुँको आयात निकै घटेको छ। पाँच वर्षअघि आर्थिक वर्ष २०७७/७८ मा ९७ हजार टन आयात भइरहेको गहुँ गत आर्थिक वर्ष २०८१/८२ मा आइपुग्दा दुई टन मात्रै आयात भएको देखिन्छ।
आखिर, पाँच वर्षको बीचमा एक्कासी गहुँको आयातमा किन कमी आयो त? भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाले भारतले गहुँ निर्यातमा रोक लगाएकाले विभागको तथ्यांकमा घटेको बताए।
‘इण्डियाले तीन वर्षदेखि नेपालमा आयात गर्नै बन्द गरेको छ,’ उनले भने, ‘त्यही भएर कोटा छुट्याएर मात्रै निर्यात गरेको छ, दुई टन आएको हो।’
अहिले भारतले निर्यातमा रोक लगाएपछि कोटा आधारमा मात्रै गहुँ आयात हुने गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट गहुँ आयात गर्न गत वर्ष २०८१ माघ १४ मा आवेदन खुलाएको थियो। भारतले ९० हजार टन गहुँ आयात गर्न अनुमति दिएअनुसार गत आर्थिक वर्षमा दुई टन मात्रै गहुँ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ।
भारतले २०७९ वैशाखमा गहुँ निर्यात गर्न रोक लगाएको थियो । रुस-युक्रेन द्वन्द्वका कारण ‘ब्ल्याक सी’ क्षेत्रबाट हुने ढुवानी घटेपछि विश्वभरका खरिदकर्ताले भारतबाट गहुँ किन्न खोजिए पनि आफ्नो खाद्य सुरक्षालाई ध्यानमा राखेर निर्यात बन्देज गरेको हो। यो बन्देज हालसम्म कायम रहेकाले नेपालमा गहुँ आयात हुन नसकेको सम्बन्ध अधिकारीले बताएका छन्।

नेपालमा गहुँको उत्पादन घट्दो
नेपालमा पछिल्लो समय गहुँ खेतीको क्षेत्रफल र उत्पादन घटेको छ। नेपालको पश्चिमी तराई र पहाडका जिल्लामा गहुँ खेती गरिन्छ। देशभर ७ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती हुँदै आएकोमा पछिल्लो समय एक लाख हेक्टर क्षेत्रफल घटेर वर्ष ६ लाख हेक्टरमा गहुँ खेती सिमित देखिन्छ।
सोबाट बर्सेनि करिब २१ लाख मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन हुँदै आएकोमा २० लाख टनमा सिमित भएको कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यसो हुनुमा कृषि क्षेत्रमा किसानको अकर्षण घट्दै जानु रहेको छ। कृषि विज्ञ राम बहादुर केसीका अनुसार गाउँभन्दा सहरी क्षेत्रमा बसोबास गर्न रुचाउने जनसंख्या बढी भएकाले खेती योग्य जमिन बाँझो हुँदै गएको हो।
‘गाउँ-गाउँ सडक पुगेको छ, जवान युवा वैदेशिक रोजगारीमा छन्,’ उनले भने, ‘खेती गरेर खानुभन्दा खरिद गरेर खाने प्रचलन बढेको छ।’
सिँचाइको अभावः नेपालका धेरैजसो क्षेत्रमा गहुँ खेती सिँचाइको अभावमा वर्षामा निर्भर रहेको छ। पर्याप्त र समयमै सिँचाइ सुविधा नहुँदा गहुँको उत्पादन घट्छ।
साथै, किसानले समयमा उन्नत बीउ र मल पाउन सकेको अवस्था कमै छ। पुरानो र स्थानीय बीउ प्रयोग गर्दा उत्पादन घट्ने हुन्छ। आधुनिक कृषि उपकरण तथा प्रविधिको प्रयोगमा कमी हुनु पनि उत्पादन घट्नु पनि कारण हो।

नेपालमा वार्षिक आन्तरिक उत्पादनमा २१ लाख टनभन्दा उत्पादन हुन्छ। आवश्यकता २५ लाख टनको हाराहारीमा रहेको कृषि विज्ञहरुको भनाइ छ।
आन्तरिक उत्पादनले स्वदेशी माग धान्न पाँच लाख टन मात्रै अपुग भएको देखिन्छ। आयात गरिएको गहुँ मैदा, आँटा, पिठोजस्ता खाद्य वस्तु उत्पादनमा प्रयोग हुने गरेको अधिकारीहरुको भनाइ छ।