काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक र दिगो पेसा बनाउन आवश्यक रहेको बताएका छन्।
आज कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन (एफएओ)नेपाललगायत साझेदार संस्थाको संयुक्त आयोजनामा ललितपुरमा आयोजित पारिवारिक खेतीसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीमा मन्त्री अधिकारीले कृषि पेसा सम्मानजनक र नाफामूलक हुन सके मात्रै कृषिबाट समृद्धि प्राप्त गर्न सकिने बताएका हुन्।
मन्त्री अधिकारीले करिब ६० प्रतिशत जनसंख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रतिकृषक परिवार औषत जोतजमिन भएको नेपालजस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधारसमेत रहेको धारणा व्यक्त गरे।
कृषि क्षेत्रमा काम गर्दे आएका नमुना कृषि सहकारी, एकीकृत कृषि प्रणाली, र किसान–प्रेरित नवप्रवर्तनकारी कार्यले ग्रामिण कृषि उत्पादन र कृषकको आम्दानी दुवैमा सुधार गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले साना किसानदेखि मध्यम स्तरका कृषकसम्म समावेश रहने परिवारिक खेती विकसित र विकासोन्मुख देशमा कृषिको प्रमुख स्वरुप रहिआएको बताए।
ग्रामीण रुपान्तरणको प्रमुख घटक रहेको पारिवारिक खेती प्रणालीलाई जलवायु परिवर्तनले चुनौती थपिदिएको भन्दै मन्त्री अधिकारीले यसलाई सामना गर्न सबै क्षेत्रको प्रयास अपरिहार्य रहेकामा जोड दिए। सिँचाइ विस्तार, कोल्ड स्टोरेज पूर्वाधार निर्माण र मूल्य शृंखला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखी सरकारले काम गरिरहेको उल्लेख गरे।
यसले किसानको मिहिनेत र उत्पादनलाई सहजै बजारसम्म पहँुच बनाई आयआर्जनमा वृद्धि गर्न सहयोग पुग्नेछ। पछिल्ला वर्षमा विभिन्न खालका प्रकोपका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको उनको भनाइ छ। ‘हामीले जलवायु-त्री कृषि, दिगो पशुपालन व्यवस्थापन, र आधुनिक प्रविधि प्रयोग प्रवर्द्धन गर्ने प्रमुख राष्ट्रिय कार्यक्रम कार्यान्वयन गरिरहेका छौं।’
तीन दिनसम्म चल्ने कार्याशालामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापा , राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्मा, एफएओका प्रतिनिधि केन सिमिजु, नेपाल कृषि सहकारी संघका अध्यक्ष खेम पाठकलगायतले सम्बोधन गरेका थिए।