कञ्चनपुर। वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका १२ कालागौँडीका मोहन राना नौ वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका छन्। वार्षिक रुपमा उनले १५ देखि २० लाखसम्मको उत्पादित केरा बिक्री गरी आम्दानी लिँदै आएको बताए।
उनले दुई बिघा भाडामा र एक बिघा स्वामित्वको गरी तीन बिघा जग्गामा रानाले केराखेती गरेका छन्। केरा बारीमा जि नौ जातको बढी उत्पादन दिने केरा रोपिएको छ। गत वर्ष रानाले १८ लाखको केरा बिक्री गरेका थिए।
केरा खेतीका लागि यस वर्ष प्रतिकूल मौसम भएकाले उत्पादन गत वर्षको भन्दा बढी हुनेमा राना ढुक्क छन्। बारीमा उत्पादित केरा दशैँ–तिहारमा बिक्री गर्ने योजना रानाको रहेको छ। ‘दशैँ–तिहारका बेला केराको माग उच्च हुन्छ,’ उनले भने, ‘मूल्य पनि सोचेअनुसार नै पाइन्छ, त्यै भएर यसै समयमा केरा बिक्रीका लागि तयार गर्दै आएका छौँ।’
उनले व्यापारीले गाडी लिएर बारीमै पुगेर पैसा दिएर केरा खरिद गरेर लैजाने गरेको बताए। थोकमा केराको प्रतिघडी ५०० देखि ६०० मा बिक्री हुने गरेको छ। प्रतिघडीमा १० देखि १५ दर्जन बढी केरा उत्पादन हुने गरेको छ।
बारीमा रोपिएका केराको गोडमेललगायतको कार्यका लागि मौसमी रुपमा १० देखि १२ जना कामदारलाई उनले रोजगारी पनि दिँदै आएका छन्।
‘घरमा रोजगारी उपलब्ध नभएपछि केही वर्ष भारतमा काम गरे,’ उनले भने, ‘त्यसपछि तीन वर्ष मलेसियामा बसेर काम गरे, विदेशमा काम गरेर घर खर्च मात्रै चल्थ्यो, बचत गर्न सकिँदैन्थ्यो, त्यै भएर घर फर्केर सुरुमा चार कट्ठा जग्गामा परीक्षणका रुपमा केराखेती गरे।’
श्रीमान् श्रीमती दुवै जना दिनको आठ घण्टाभन्दा बढी समय केराको स्याहार सुसारमै बिताउने गरेको उनको भनाइ छ। शुक्लाफाँटा १२ का वडाध्यक्ष नवलसिंह रानाले मोहनलाई नगरपालिका क्षेत्रमा व्यावसायिक केराखेती गर्ने अब्बल किसानका रूपमा रहेको बताए।