काठमाडौं। यति एयरलाइन्सले ९ महिनामा चार अर्ब बढीको व्यापार गरेको छ। एयरलाइन्सले आर्थिक वर्ष २०२४/२५ को पहिलो ९ महिनामा चार अर्ब ११ करोड रुपैयाँ (अपरिस्कृत) बढीको व्यापार गरेको हो।
सन् १९९८ मा स्थापित एयरलाइन्स कम्पनी नेपालको पुरानो वायुसेवा प्रादायक कम्पनीमध्येको एक हो। कम्पनीले आर्थिक वर्ष २०२४ मा चार अर्ब २५ करोड, आव २०२३ मा तीन अर्ब ७७ करोड, आव २०२२ मा तीन अर्ब ९२ करोड र आव २०२१ मा एक अर्ब ३९ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो।
टिकट बिक्री बढेसँगै कम्पनीको व्यापार बढेको हो। आव २०२३ भन्दा आव २०२४ मा यतिको व्यापार १३ प्रतिशतले वृद्धि भएको थियोे। २०२४ को तुलनामा २०२५ को तेस्रो त्रैमासमा पनि २९ प्रतिशतले व्यापार बढेको छ। एयरलाइन्सको टिकट बिक्री हब र अनलाइन बुकिङको सुविधाको कारणले व्यापार बढाउन सहयोग गरेको हो।
यतिको अकुपेन्सी दर सन् २०२५ मा ८२ प्रतिशत छ। गत वर्ष अकुपेन्सी दर ७८ प्रतिशत थियो। एयरलाइन्सको एयर ट्राफिक मेन्टिनेन्स अर्गनाइजेसनको प्रमाणपत्र भएकाले यसले एयर ट्रफिक मेन्टिनेन्समार्फतसमेत आम्दानी गर्छ। जसबाट आफ्नो विमान मर्मत आफै गर्ने हुँदा खर्च जोगिएको छ।
हाल एयरलाइन्सको ७ वटा ‘एटीआर ७२’ जहाजहरु सञ्चालनमा छन्। सन् २०२५ मा यतिले २ वटा नयाँ एटीआर ७२ जहाज थपेर ७ वटा पुर्याएको हो। जसमध्ये ६ वटा आफैले चलाउँछ भने एउटा भाडामा दिएको छ।
यतिले बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएकोमा इन्फोमेरिक्सले ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ कर्जा दिन हुने गरी निर्धारण गरेको छ। जसमा अल्पकालीन कर्जामा ‘ट्रिपल बी माइनस’ र अल्पकालीन कर्जामा ‘एथ्री’ रेटिङ दिएको छ।
तर, कम्पनीले तत्काल ऋण लिने तयारी गरेको छैन। 'यो रेटिङले हामीलाई प्रिमियममा आईपीओ जारी गर्न थप सहज भएको छ। आगामी दिनमा आईपीओ निकाल्ने तयारी गरेका छौँ,' कार्यकारी अध्यक्ष सोनाम शेर्पाले भने।
‘त्रिपलबी माइनस’ले वित्तीय दायित्व भुक्तानीमा यतिको प्रयाप्त क्षमता रहेको र अल्पकालीन कर्जामा ‘एथ्री’ रेटिङसमेत वित्तीय दायित्व भुक्तानीमा क्षमता प्रयाप्त रहेको संकेत गर्छ। पुरानो तथा बजारमा बलियो पकड भएको एयरलाइन्स, एएमओ प्रमाणपत्र प्राप्त, टिकट बिक्रीको रणनीतिले आम्दानीमा उल्लेख्य बिक्रीले गर्दा उच्च रेटिङ प्रादान गरिएको इन्फोमेरिक्सको रिपोर्टमा उल्लेख छ।
नेपालको वायु सेवा क्षेत्रमा २१ प्रतिशत (यात्रुको हिसाब) हिस्सा ओगटेको यति एयरलाइन्समा मुख्य सेयर धनीमध्ये ४६.८२ प्रतिशत एशियन लाइफ इन्स्योरेन्स, २५.०३ प्रतिशत सोनाम शेर्पा र २०.०६ प्रतिशत चन्दा शेर्पाको सेयर स्वामित्व छ।
हाल एयरलाइन्सको ७ वटा ‘एटीआर ७२’ जहाजहरु सञ्चालनमा छन्। सन् २०२५ मा यतिले २ वटा नयाँ एटीआर ७२ जहाज थपेर ७ वटा पुर्याएको हो। जसमध्ये ६ वटा आफैले चलाउँछ भने एउटा भाडामा दिएको छ।
यतिको व्यापार २०२३ को दुर्घटनापछि घटेको थियो। तर, २०२४ देखि टिकट बिक्री बढाएको छ। साथै, नयाँ जहाज थपेर नाफाको (इबिआइटिडिए) मार्जिन पनि २० प्रतिशतबाट बढाएर २६ प्रतिशत पुर्याएको छ।
यद्यपि, यतिले दुई वटा जहाज थप गर्न करिब एक अर्ब ७० करोड रुपैयाँ लगानी गर्दा ऋण भार थप भएको छ। तर, पुँजी संरचना परिवर्तनले गर्दा सम्पत्तिमा ऋण अनुपात ४.४५ गुणा मात्रै कायम भएको छ। जुन २०२४ सम्म ४९.८१ गुणा थियो। यतिको कार्यकारी अधिकृत सुवास सापकोटा छन्।