काठमाडौं। संघीय संसद् प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
आज चार वटा संसदीय समितिको पनि बैठक बस्दै छ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ। आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुँदै छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे आठ बजे बस्दै छ। आज बस्ने बैठकमा सौर्य एयरलाइन्सको विमान दुर्घटना प्रतिवेदनबारे छलफल हुनेछ।
राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ। विधायन व्यवस्थापन समिति बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ।