काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीपाती सिजनका बेला मल अभाव भएपछि कृषिमन्त्री रामनाथ अधिकारीसँग प्रस्टीकरण लिएको चार दिनपछि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पाेरेसनले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकात्ता बन्दरगाह आइपुगेको जनाएको छ।
कोलकाता ल्याइएको मल धमाधम गोदाममा आउने क्रम सुरु भएकाले खेतीपाती सिजनमा अभाव नहुने दाबी साल्ट ट्रेडिङले गरेको हो। कम्पनीले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र १० ८३ हजार बोरा डिएपी गरी कुल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो।
गोदाममा ल्याइँदै गरेको मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकिएको साल्ट ट्रेडिङले जनाएको छ। प्रदेश सरकारद्वारा पालिकालाई कोटा वितरण भइसकेको बताइएको छ।
रासायनिक मलको पछिल्लो अवस्थाबारे कर्पाेरेसनले मल बिक्रेताका रूपमा दर्ता भएका सबै डिलरलाई आफ्ना पालिका तथा कम्पनीको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न आग्रह गरेको छ।
तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन आयात भइरहेको कृषि मन्त्रालयले जनाएको छ। साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनीमा उक्त परिमाणको मल उपलब्ध हुनेछ।
हाल कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ। युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी ७ हजार ६५३ मेट्रिक टन तथा पोटास ४ हजार ९१५ मेट्रिक टन मौज्दात छ।
साल्ट ट्रेड्रिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ। त्यसमध्ये युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन, पोटास एक हजार ७८५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले चालू आवका लागि ६ लाख मेट्रिक टन मल व्यवस्थापन लक्ष्य राखेको छ। त्यसका लागि २८ अर्ब ८२ करोड बराबरको बजेट व्यवस्थापन गरिएको छ। हालसम्म तीन लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ।
गत आवको ३० हजार ९८३ मेट्रिक टन मल मौज्दात छ। त्यसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास ६ सय ११ मेट्रिक टन छ।
हाल बजारमा रासायनिक मल अभाव भएको विभिन्न सञ्चारमाध्य र सामाजिक सन्जालमा समाचार तथा पोस्ट भइरहेका बेला कर्पाेरेसनले सरकारी निर्णयअनुसार आयात भइरहेकाले अभाव नहुने दाबी गरेको छ।
यसअघि साउन २७ मा प्रधानमन्त्री ओलीले रासायनिक मल अभावको समस्याका विषयमा कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गरेका थिए।
रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा कृषि तथा पशुपक्षी विकासमन्त्री अधिकारी, मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनीका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबार बोलाएर मल अभाव हुनुको कारणबारे सोधीखोजी गरेका थिए।
खेतीपातीका बेला आवश्यक पर्ने मल मौज्दात हुँदा र थप आउने क्रम जारी रहँदा पनि समयमा मल नपाएको किसान गुनासोपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा सक्रियता देखाएका थिए।
प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मल अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्रांगारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए।