झापा। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैंचीले उत्पादनको सुरुआती ‘सिजन’मै उच्च भाउ पाएको छ। अलैंची खरिद बिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा आज प्रतिमन (४० केजी) ९४ हजारमा कारोबार भएको नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी निर्देशक अनिल ढुंगानाले बताएका हुन्।
‘यो निकै राम्रो भाउ हो’, उनले भने, ‘गत वर्ष अहिलेकै सिजनमा अलैंचीको कारोबार प्रतिमन ४० हजारसम्ममा भएको थियो।’ अलैंचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ।
२०७५ को अहिलेको सिजनमा अलैंचीको प्रतिमन मूल्य १ लाख ५ हजारसम्म पुगेको थियो। सोही वर्षको मंसिरमा मूल्य अझ बढेर प्रतिमन १ लाख सात हजार पुगेको थियो। २०६७ मा प्रतिमन अलैंची एक लाख २० हजारसम्ममा कारोबार भएको थियो।त्यसभन्दा बढी मूल्यका अलैंचीको कारोबार कहिल्यै भएको छैन।
भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मंसिर–पुसतिर अझै बढ्न सक्ने संकेत भएको उनको भनाइ छ। अहिले बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन्। किसानले बेच्ने बेलामा अलैंचीको भाउ उच्च हुँदा किसान उत्साही भएका हुन्। किसानबाट यतिबेला किनेको अलैंची भण्डारण गरेर व्यापारीले मंसिर–पुसतिर भाउ अकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन्।
‘एक मन अलैंची उत्पादन गर्न किसानले अधिकतम २० हजारसम्म लगानी गरेका हुन्छन्’, महासंघका कार्यकारी निर्देशक ढुंगाना भन्छन्, ‘आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन्। यसपालि अलैंचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ।’
नेपालका ४२ जिल्लामा अलैंची खेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ। कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ। आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर ७ अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।
नेपालमा उत्पादित अलैंचीको ९० प्रतिशत निर्यात हुने गरेको छ। नेपालबाट भारत पुगेको अलैंची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ। विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन।–रासस