काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि क्रिमिया पुनः प्राप्त गर्ने वा नेटो सदस्यता प्राप्त गर्ने सम्भावना वार्ताबाट बाहिर रहेको घोषणा गरेका छन्।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबारको वार्ताका लागि अमेरिकी राजधानी वासिङ्टन आइपुगेका छन्।
राष्ट्रपति जेलेन्स्कीले विगतमा पटक-पटक भूभागीय सम्झौताको विरोध गर्दै आएका छन्। युरोपेली आयोग प्रमुख उर्सुला फन डेर लायन तथा अन्य युरोपेली नेताहरूसँग संयुक्त रूपमा सोमबार राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यो भेटवार्ता ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा सम्पन्न भएको शिखर सम्मेलनको केही दिनपछाडि हुँदै छ।
उक्त सम्मेलनबाट युद्ध विराममा ठोस सहमति जुट्न नसके पनि, दुवै नेताले युक्रेनलाई ‘मजबुत सुरक्षा प्रत्याभूति’ दिन प्रतिबद्धता जनाएका छन्।
जेलेन्स्की उक्त अलास्का बैठकमा आमन्त्रित थिएनन्। बैठकपछि ट्रम्पले युक्रेनले युद्ध अन्त्य गर्न चाहने हो भने त्यो तुरुन्त सम्भव हुने अभिव्यक्ति दिएका थिए।
‘राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध तुरुन्त अन्त्य गर्न सक्छन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरे, ‘क्राइमिया त बाराक ओबामाको पालामै बिना गोली चलेको र बिना प्रतिरोध रुसलाई गइसकेको थियो।’