काठमाडाैं। आगामी ११ जुनदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुन लागेको फिफा विश्वकप २०२६ले विश्वभरका खेलप्रेमीहरूमा ठूलो उत्साह जगाएको छ। यो प्रतियोगिता केवल एउटा खेलकुद महोत्सव मात्र नभइ विश्वअर्थतन्त्रलाई नयाँ गति दिने एउटा विशाल अवसरका रूपमा पनि हेरिएको छ।
आधिकारिक अध्ययनका अनुसार यो एकल प्रतियोगिताले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनमा ४०.९ अर्ब अमेरिकी डलरसम्म योगदान पुर्याउन सक्छ र झण्डै ८ लाख २४ हजार पूर्णकालिक रोजगारीको सिर्जना गर्न सक्ने देखिएकाे छ।
खेलकुदः बढ्दो वैश्विक उद्योग
विश्व आर्थिक मञ्चले खेलकुद क्षेत्रलाई सन् २०३० सम्म विश्वको आर्थिक वृद्धिलाई नेतृत्व गर्ने शीर्ष दश उद्योगमध्ये एक मानेको छ। मञ्चले ओलिभर वाइमनसँगको साझेदारीमा प्रकाशित गरेको 'स्पाेर्टस् फर पिपुल एन्ड प्लानेट' प्रतिवेदनका अनुसार खेलकुद पर्यटनको विस्तार र महिला खेलकुदको मूलधारमा प्रवेशजस्ता प्रमुख कारकहरूले यो क्षेत्रलाई सन् २०५० सम्म ८.८ ट्रिलियन डलरको विशाल अर्थतन्त्रमा रूपान्तरण गर्न सक्छन्। आवास, खानपान र मनोरञ्जन उद्योग अर्को पाँच वर्षमा वैश्विक वृद्धिका मुख्य चालकहरूमध्ये पर्छन् र उत्तर अमेरिका यस क्षेत्रको मुख्य केन्द्र बन्ने अपेक्षा गरिएको छ।
अमेरिकामा चिन्ताको बादल
तथापि विश्वकप आयोजनाको यो उत्साहका बीच अमेरिकामा एउटा गम्भीर चिन्ताले घेरिएकाे छ। आयोजक शहरहरूमा अपेक्षित पर्यटन लाभ उठ्न नसक्ने संकेतहरू देखिन थालेका छन्। विशेषज्ञहरूका अनुसार आकाशिएको टिकट मूल्य, मुद्रास्फीतिको भय र राजनीतिक कारणले उत्पन्न 'ट्रम्प स्लम्प' नामक प्रवृत्तिले विदेशी पर्यटकहरूलाई अमेरिका जानबाट रोकेको छ। अटलान्टादेखि सान फ्रान्सिस्कोसम्मका आयोजक शहरहरूमा होटल दर एक तिहाइले घटेको वित्तीय पत्रिका फाइनान्सियल टाइम्सले जनाएको छ।
रेक्सह्यामः एक फुटबल क्लबले बदलिदियो सिंगो शहरको भाग्य
खेलकुदको वास्तविक रूपान्तरणकारी शक्ति बुझ्न वेल्सको एउटा सानो खानी शहर रेक्सह्यामको कथा सुन्नैपर्छ। सन् २०२२ को सेप्टेम्बरमा वेलकम टु रेक्सह्याम नामक टेलिभिजन शृंखला प्रसारण हुँदा यो शहर वेल्सका स्थानीय निकायहरूमध्ये तेस्रो सबैभन्दा कम रोजगार दर भएको ठाउँ थियो। दुई हलिउड अभिनेताहरूले यो स्थानीय फुटबल क्लब किनेर यसको कथालाई पुनः लेख्न थाले। परिणाम अकल्पनीय थियो।
मिशिगन विश्वविद्यालयको एक सहकर्मी-समीक्षित अध्ययनका अनुसार मार्च २०२४ सम्म आइपुग्दा रेक्सह्याम वेल्सकै सर्वोच्च रोजगार दर भएको शहर बनिसकेको थियो। शहरमा पर्यटक खर्च ५१ प्रतिशतले बढेर २०४.५ मिलियन डलर पुग्यो। क्लबको वार्षिक राजस्व टेकओभरपूर्व ४ मिलियन डलरभन्दा कम थियो भने सन् २०२४/२५ सम्म यो ४५ मिलियन डलर नाघ्यो। प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, सामाजिक सेवा खर्च र मानसिक स्वास्थ्यमा समेत उल्लेखनीय सुधार आयो। अनुसन्धानकर्ताहरूले यो परिवर्तन संयोग नभई प्रत्यक्ष कार्यकारण सम्बन्धमा आधारित रहेको पुष्टि गरे- एउटा फुटबल क्लब र त्यसवरिपरि बुनिएको कथाले साँच्चिकै एउटा सिंगो शहरको आर्थिक तराजु हल्लाइदियो।
इतिहासका पानाहरूमा खेलकुदको जादु
रेक्सह्याम यो यात्राको नयाँ अध्याय मात्र हो। यसभन्दा अगाडि पनि खेलकुदले शहरहरूको काया पलटाएका दृष्टान्तहरू इतिहासमा अंकित छन्। सन् २००२ मा म्यान्चेस्टरले कमनवेल्थ गेम्स आयोजना गर्दा ४०५ मिलियन डलरको लगानीले इस्ट मेन्चेस्टर क्षेत्रलाई उद्योगपश्चात् खण्डहरमा परिणत भएको जमिनबाट एउटा जीवन्त नागरिक केन्द्रमा रूपान्तरण गर्यो।
नयाँ घर, विद्यालय, जलक्रीडा केन्द्र र ती खेलमैदानहरू उठे जो पछि मेन्चेस्टर सिटी फुटबल क्लबको घर बन्यो। त्यो आयोजनाको नेतृत्व गर्ने नगर प्रमुख सर हावर्ड बर्नस्टेनले सन् २०२२ मा यसलाई "पश्चिमी जगतमा पाइने सबैभन्दा सफल पुनरुत्थानको कथाहरूमध्ये एक" भनी सम्झे।
त्यसभन्दा अगाडि, सन् १९९२ मा बार्सिलोनाले ओलम्पिक खेलकुदको माध्यमबाट आधुनिक इतिहासकै सर्वाधिक प्रशंसित सहरी पुनर्निर्माण गर्यो। सन् १९८६ देखि १९९२ बीचमा शहरको बेरोजगारी दर १८.४ प्रतिशतबाट घटेर ९.६ प्रतिशतमा झर्यो र ओलम्पिक लगानीको कुल आर्थिक प्रभाव २१.९ अर्ब डलरभन्दा माथि पुग्यो। एक समय अवनतिमा रहेको बन्दरगाह शहर बार्सिलोना आज युरोपको सर्वाधिक भ्रमण गरिने भूमध्यसागरीय गन्तव्य बनिसकेको छ।
समाजमा खेलकुदको असर
अर्थशास्त्रीहरू प्रायः रोजगारी र कुल गार्हस्थ्य उत्पादनको तथ्यांकमा अड्किन्छन्, तर खेलकुदको वास्तविक शक्ति त्यसभन्दा गहिरो छ। सन् २०२३ मा प्रकाशित एक व्यापक अध्ययनले टोली खेलकुदमा सहभागिता अवसाद र मानसिक चिन्तामा कमी तथा जीवन सन्तुष्टि र समग्र खुशीमा वृद्धिसँग निरन्तर जोडिएको देखाएको छ।
इङ्ग्ल्यान्डको खेलकुद निकायले त सन् २०२३/२४ मा मात्रै सामुदायिक शारीरिक गतिविधिले स्वास्थ्य खर्चमा कटौती, मानसिक स्वास्थ्यमा सुधार र सामाजिक एकताको माध्यमबाट १६६ अर्ब डलर बराबरको सामाजिक मूल्य सिर्जना गरेको गणना गर्यो।
विश्व आर्थिक मञ्चले खेलकुदलाई केवल मनोरञ्जन होइन, सामाजिक पूर्वाधारका रूपमा परिभाषित गरेको छ। विश्वकपको वर्तमान आर्थिक लाभ अझै विशाल छ। लस एन्जलस् काउन्टी एक्लैले ८ खेलबाट ५९४ मिलियन डलरको आर्थिक प्रभाव पाउने अनुमान छ।