काठमाडौं। नेपालमा १४ लाख बोरा मल भित्रिने क्रममा छ। कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार उक्त परिणामको मल नेपाल भित्रिने क्रममा रहेको हो।
ग्लोबल टेन्डर तथा जि.टु.जि.मार्फत भारतको कलकत्ताबाट दुई वटा सम्झौताबाट प्राप्त हुने १२ लाख बोरा मलमध्ये ६ लाख बोरा मल कम्पनीको गोदाममा प्राप्त भइसकेको र ६ लाख बोरा मल नेपाल आउने क्रममा रहेको कम्पनीले जनाएको छ।
डि.ए.पी.मार्फत तीन वटा सम्झौताबाट जम्मा १७ लाख बोरा मलमध्ये ३ लाख बोरा मल कम्पनीको गोदाममा प्राप्त भएको छ। बाँकी १४ लाख बोरा मल नेपाल भित्रिने क्रममा रहेको कम्पनीले जनाएको छ।
कम्पनीले रासायनिक मलको ग्लोबल टेन्डर तथा जि.टु.जि.मार्फत आपूर्ति गरी देशभर करिब ७ हजार सहकारी संघ/संस्थामार्फत नियमित तथा प्रभावकारी तवरबाट बिक्री वितरण गर्दै आएको छ।
कम्पनीबाट गत वर्षको असार मसान्तसम्म युरिया एक लाख ९२ हजार ४७८ टन, डि.ए.पी. एक लाख ३१ हजार २४९.९५० टन र पोटास ११ हजार २४८.४०० टन, गरी जम्मा तीन लाख ३४ हजार ९७७.१५ टन मल बिक्री वितरण भएको कम्पनीले जनाएको छ। यस्तै, सो परिमाण अघिल्लो वर्ष २०८०/८१ को तुलनामा ८० हजार ५८०.२० टनले बढी रहेको कम्पनीले जनाएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को श्रावण महिनामा मात्र यूरिया चार लाख ३२ हजार ८०५ बोरा, डि.ए.पी ३ लाख ३७ हजार ०९७ बोरा र पोटास १४ हजार ५०८ बोरा गरी जम्मा सात लाख ८४ हजार ४१० बोरा मल बिक्री भइसकेको जनाएको छ।
हाल कम्पनीसँग युरिया पाँच लाख १६ हजार ८६२ बोरा, डि.ए.पी. एक लाख ५९ हजार ३९७ बोरा र पोटास ९४ हजार ९२३ बोरा मौज्दातमा रहेको कम्पनीले जनाएको छ। सो मल कम्पनीका प्रादेशिक तथा शाखा कार्यालयहबाट नियमित रुपमा बिक्री वितरण हुँदै आएको दाबी गरेको छ।