काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले पुलचोक, ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उपकरणका लागि ग्राहकको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा सामसङ्ग प्लाजाको सञ्जाल विस्तार गर्न उत्प्रेरित गरेको हिम इलेक्ट्रोनिक्सले बताएको छ ।
हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापीठ विद्यालय तथा श्री आजाद विद्यालयका छात्राहरुले असार २५ गते शोरुम उद्घाटन गरेका हुन् ।
१५औं वार्षिकोत्सवका अवसरमा, सामसङ्ग प्लाजाले निर्मल विद्यापीठ विद्यालय र श्री आजाद विद्यालयका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेसनरी उपलब्ध गराएको थियो । यस्तै, प्लाजाले चितवन माडीका ३० जना महिला समूहलाई युवा साक्षरता कक्षा सञ्चालन गरेको छ ।
‘यस विस्तारसँगै पुलचोक, ललितपुरका ग्राहकहरु विभिन्न किसिमले लाभान्वित हुनेछन्,’ उद्घाटन समारोहमा सीमा गोल्छाले भनिन्, ‘छात्रवृत्ति पहल कार्यक्रममार्फत महिला सशक्तीकरणका लागि एउटा सानो प्रयास गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो ।’ उनले शोरुमको उद्घाटन पाँच जना बालिकाबाट भएकोमा खुसी व्यक्त गरिन् । ‘मलाई विश्वास छ, हाम्रो यो सानो योगदानले आगामी दिनमा सकारात्मक परिणामका लागि समर्थन गर्नेछ,’ उनले भनिन् ।

सामसङ्ग डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता उत्पादन राखिएका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका सात ओटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात ओटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको बताएको छ ।
उद्घाटनका अवसरमा ग्राहकलाई विशेष अफरको व्यवस्था गरिएको छ ।