जनकपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मधेसको कृषि क्षेत्रमा अहिले देखिएको समस्या सम्बोधन गर्न आफूले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी पहलकदमी लिने बताएका छन्।
मधेस प्रदेशमा कृषिको अवस्था, सरकारले खडेरीका कारण विपद क्षेत्र घोषणा गरेपछिको अवस्था, रासायनिक मलको उप्लब्धता, किसानले भोग्नुपरेको समस्या, किसानलाई आवश्यक रासायनिक मलको उपलब्धतालगायत विषयमा जानकारी लिन सासदको टोलीसहित जनकपुर पुगेका मन्त्री अधिकारीले यस्तो बताएका हुन्।
छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेस प्रदेश कृषि मन्त्री जनार्दनसिंह क्षेत्री, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्रीहरू रामकृष्ण यादव, अमनलाल मोदी, हरि प्रसाद उप्रेतीसहित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना उपस्थित थिए।
यसैगरी, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, मधेस प्रदेश सरकारका मुख्य सचिव मदन भुजेल, मधेस प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहाललगायत उच्च तहका कर्मचारी एवं प्रतिनिधि सहभागी थिए।
छलफलमा उठेका विषयलाई तत्काल सम्बोधन गर्न संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन किसिमको योजना तर्जुमा गरी कार्यन्वयन गर्न वा गराउन आवश्यक पहलकदमी लिने मन्त्री अधिकारीले बताए।