काठमाडौं। अग्रवाल सेवा केन्द्रअन्तर्गत अग्रवाल युवा मञ्च काठमाडौंले आयोजना गर्ने 'एवाईएम खेल महोत्सव २०२५' भदौ १२, १३ र १४ गते राजधानीको धन्यन्तरी स्पोर्ट्स हबमा हुने भएको छ। यसपटक महोत्सव दोस्रो संस्करणको रुपमा आयोजना हुँदै छ।
पहिलो संस्करणमा पाएको उत्साहजनक सहभागितापछि यस वर्ष महोत्सवलाई थप व्यापक बनाएर राष्ट्रिय स्तरमा लैजाने तयारी भएको छ। नेपालभरका विभिन्न सहर र प्रदेशका खेलाडीहरू सहभागी हुने आयोजकले जानकारी दिएको छ।
महोत्सवमा इनडोर क्रिकेट, इनडोर फुटसल, ब्याडमिन्टन (पुरुष, महिला र बालबालिका वर्ग), स्विमिङ (पाँच वर्षमाथि विभिन्न उमेर समूह), टेबल टेनिस (पुरुष, महिला र बालबालिका) तथा पुल प्रतियोगिता हुने छन्।
महोत्सवको टाइटल स्पोन्सर लुक्सकार्ट रहेको छ। इभेन्ट को-अर्डिनेटरमा रितेश मित्तल र सकेत अग्रवाल (बगरिया) रहेका छन्। आयोजक समितिका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र खेल भावना, स्वस्थ प्रतिस्पर्धा र आपसी एकता अभिवृद्धि गर्ने लक्ष्यसहित महोत्सव सम्पन्न हुने विश्वास लिइएको छ।
अग्रवाल युवा मञ्च, काठमाडौंले सम्पूर्ण खेलप्रेमीलाई यस महोत्सवमा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्न आमन्त्रण गरेको छ।