काठमाडौं। मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरी जम्मा ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले तोकिएका शर्तसहित योग्य व्यक्ति, कम्पनी तथा संस्थाहरुलाई यस प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो।
कम्पनीले बिक्रीमा राखेका सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका एक लाख ७२ हजार ३७२ कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० तोकिएको छ भने न्यूनतम आवेदन ५ हजार कित्ता मागिएको छ।
त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ता सेयर प्रतिकित्ता ३७५ को न्यूनतम मूल्यमा उपलब्ध हुने छन्। यसका लागि न्यूनतम ५ हजार कित्ता आवेदन दिनुपर्ने छ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ता सेयर प्रतिकित्ता ३३० को न्यूनतम मूल्यमा बिक्रीमा राखिएका छन्। कालिकाका हकमा न्यूनतम आवेदन १ हजार कित्ता तोकिएको छ।
त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ता सेयर प्रतिकित्ता १०० को न्यूनतम मूल्यमा बिक्री हुने छन्। यसका लागि न्यूनतम आवेदन १ हजार ३१५ कित्ता मागिएको छ।
क्यापिटलले शिलबन्दी फाराम १०० तिरेर नारायणचौर, नक्सालस्थित कार्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ। इच्छुकले फाराम भरेर मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३ बजेसम्म बुझाउनुपर्ने छ। प्राप्त बोलपत्र मिति २०८२ साल भाद्र २५ गते बिहान ११ बजे कम्पनी कार्यालयमा खोलिने छन्।
यस प्रक्रियामा साविकका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइने छ। बाँकी रहेका सेयर उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदातालाई बिक्री गरिने कम्पनीले जनाएको छ।