काठमाडौं। अमेरिकी वाणिज्य विभागका अनुसार आल्मुनियम वा स्टिल समावेश भएका थप ४०७ प्रकारका वस्तुमा ५० प्रतिशत आय शुल्क लागू गरिएको छ।
नयाँ निर्णयअनुसार, स्टिल र आल्मुनियम आयातमा लाग्ने ‘सेक्सन २३२’अन्तर्गतको कर विस्तार गरिएको छ। यसले मोबाइल, क्रेन, बुलडोजर, रेलको डब्बा, फर्निचर, कम्प्रेसर, पम्पलगायत सयौँ उत्पादन समेट्ने छ।
निर्णय अपेक्षाकृत छिटो लागू भएकाले भन्सार एजेन्ट तथा आयातकर्ताहरू तयारी गर्न नपाई प्रभावित भएका छन्।
अमेरिकी वाणिज्य विभागका उद्योग तथा सुरक्षा उपसचिव जेफ्री केसलरले भने, ‘आजको कदमले स्टिल र एलुमिनियममा लाग्ने शुल्कको कार्य क्षेत्रलाई विस्तार गर्दै सम्भावित दुरुपयोग रोक्ने तथा अमेरिकी उद्योगलाई मजबुत बनाउने दिशामा टेवा पुर्याउने छ।’
सरकारले प्रभावित वस्तुहरूको विवरण भन्सार कोडमार्फत मात्रै उपलब्ध गराएको हुँदा सर्वसाधारणका लागि यकिनसँग बुझ्न केही कठिनाइ हुन सक्ने जनाइएको छ।
त्यस्तै, जुलाई महिनाको अन्त्यमा राष्ट्रपति ट्रम्पले तामा (कपर) आधारित वस्तुमा पनि ५० प्रतिशत आय शुल्क लागू गर्ने घोषणा गरेको थियो। जुन अगष्ट १ देखि लागू भइसकेको छ।
विशेषज्ञका अनुसार यस्ता क्षेत्र विशेष शुल्कले निर्माण, अटोमोबाइल तथा इलेक्ट्रोनिक्स जस्ता उद्योगमा लागत वृद्धि गर्ने सम्भावना रहेको छ। सीएनएनका अनुसार, शुल्क वृद्धिले आपूर्ति शृङ्खला नै प्रभावित पार्न सक्ने छ।