काठमाडौं। नेपाल आयल निगमले लुम्बिनी प्रदेशमा अत्याधुनिक इन्धन डिपो बनाउने अन्तिम तयारी गरेको छ। लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकास्थित साढे २५ बिघा क्षेत्रफलमा निर्माण हुने इन्धन डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार ५ अर्ब ७९ करोड ३० लाख लागत लाग्ने भएको हो।
चालू आर्थिक वर्ष २०८२/८३ बाट निर्माण कार्य सुरु गर्ने गरी आवश्यक तयारी पुरा भएको भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख प्रदीप कुमार यादवले जानकारी दिए।
सो डिपोमा कुल १८ हजार ६८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्यांक निर्माण गरिने निगमका भण्डारण क्षमताको हुने छ। जसअन्तर्गत डिजेल भण्डारण गर्न १३ हजार ५०० किलोलिटर, पेट्रोलका लागि चार हजार ९६० किलोलिटर र मट्टितेलका लागि २२८ किलोलिटर क्षमताका भण्डारण ट्यांक निर्माण गरिने छ।
डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुई वटा पानी ट्यांकी निर्माण हुने छन्। जसमा कूल चार हजार २०० किलोलिटर भण्डारण हुनेछ। इन्धन लोडिङ सेडमा ८ वटा ‘वे’ र अनलोडिङ सेडमा पनि ८ वटा ‘वे’ निर्माण हुनेछ।
हाल संचालनमा रहेको लुम्बिनी प्रादेशिक कार्यालय, भलवारी (रुपन्देही) साँघुरो, घना बस्तीबीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले सरकार र आयल निगमले आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माणको आवश्यकता महसुस गरेर नयाँ डिपो बनाउन लागिएको प्रमुख यादवको भनाइ छ। इन्धन भण्डारणका लागि आवश्यक डिपिआर काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा तयार पारिएको हो।
रोहिणी र ओमसतिया गाउँपालिकामा आयल निगमले साढे ११ बिघा जग्गा खरिद गरेको छ। सो क्षेत्रमा रहेको थप साढे ८ बिघा पर्ति जग्गा निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट आवश्यक पहलकदमी भइसकेको जनाएको छ।
जग्गा प्रवेश गर्ने मुलबाटोसँग जोडिएको करिब साढे पाँच बिघा पनि जग्गा प्राप्ती ऐन, ०३४ अनुसार प्राप्ति गर्न प्रक्रिया थालनी भइसकेको उल्लेख छ। यसरी करिब साढे २५ बिघा फराकिलो क्षेत्रफलमा आयल निगमको आधुनिक र सुविधा सम्पन्न लुम्बिनी प्रादेशिक कार्यालय निर्माण हुने प्रक्रिया अघि बढेको उनले बताए।
रोहिणी नदी किनारमा रहेको जग्गामा २०८१ साल वैशाख ५ गते ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादव र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवसहितका जनप्रतिनिधिको बाक्लो उपस्थितिमा भूमि पुजन गरी निर्माण कार्यको थालनी भएको थियो।