काठमाडौं। नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’बाट सम्मानित भएको छ।
सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम दिँदै आएको ब्रोडवे इन्फोसिस प्रालिले वल्र्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्सबाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको हो।
ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’अन्तर्गत गत मंगलबार ब्रोडवेलाई उक्त अवार्ड प्रदान गरिएको हो।
कम्पनीले व्यावसायिक आईटी तालिममार्फत नेपालको शिक्षा तथा प्रविधि क्षेत्रमा पुर्याएको योगदान र दक्ष जनशक्ति उत्पादनमा गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै यो अवार्ड प्रदान गरिएको आयोजक विट्साले जनाएको छ।
समिट अवसरमा ब्रोडवे इन्फोसिसका निर्देशकद्वय हरिकृष्ण अधिकारी र उत्तम अधिकारीले उक्त अवार्ड ग्रहण गरेका थिए।
विट्सा विश्वका ८० भन्दा बढी देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्थाको छाता संगठन हो। नेपालको तर्फबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ विट्साको सदस्य रहेको छ।
‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ विधासहित विभिन्न १३ विधामा प्रदान गरिएको अवार्डका लागि विश्वभरबाट सयौं कम्पनीले मनोनयन दर्ता गराएका थिए।
कार्यक्रममा क्यान महासंघका निवर्तमान अध्यक्ष तथा विट्साका कोषाध्यक्ष रणजितकुमार पोदार, क्यान महासंघका प्रबन्धक उदीप बराल, होरिवन नेपालका निर्देशक जितेन्द्र पोद्दारलगायत सहभागी थिए।