काठमाडौं। सामसङले आज आफ्नो प्रमुख सिएसआर पहल, सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालयअन्तर्गत पूर्वीय इञ्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ।
साथै, अब नयाँ ब्याचको एआई र बिग डाटाको तालिम सुरु हुनेछ। जसले गर्दा विद्यार्थीहरू भविष्यका लागि आवश्यक दक्षतासँग सज्ज हुने छन्। त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो। डा। दीपक आर्यल, पूर्वीय क्याम्पस प्रमुख डा। सञ्जय उप्रेती र इञ्जिनियरिङ अध्ययन संस्थाका डिन प्रो।डा। सुशिल बी। बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरियो।
सामसङ नेपाल कार्यालयका मानवश्रोत प्रबन्धक, जयन्त मणि कायस्थले भने, 'कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुसी छौँ। सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको छ, त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बिग डाटा र आईओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीका लागि तयार गर्न लक्ष्य राखेका छौँ।'

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ। एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनौट गरिन्छ।
इञ्जिनियरिङ अध्ययन संस्थाका डिन बज्राचार्यले भने, 'नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौँ। कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ। हामी हाम्रा विद्यार्थीका लागि भविष्यको प्रविधि सिकाईको दायरा अझ विस्तार गर्न चाहन्छौँ।'
यस कार्यक्रममा प्राविधिक सीपको साथै रोजगारी योग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता सफ्ट स्किलको पनि तालिम दिइन्छ। साथै, विद्यार्थीहरूले एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङका साथै प्रविधि प्रयोग गरी सामाजिक महत्वका परियोजनामा पनि काम गर्छन्। यसले वास्तविक संसारका चुनौतीहरूको समाधान गर्न मद्दत गर्छ।