काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको जनाएको छ। सोही कारण देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी तराई भूभागको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राती देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
देशका पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्र यात्रा तय गर्न महाशाखाले अनुरोध गरेको छ।
सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौंस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ।
विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ।