६ दशकअघि बनेको पाँचतारे होटल अन्नपूर्ण अहिले धमाधम पुनर्निर्माण (रेनोभेट) हुँदै छ। २५ तलाको अत्याधुनिक भवन बन्ने अन्नपूर्ण स्क्वायर होटल २०८५ भित्र सञ्चालनमा आउने छ।
पाँच दशकदेखि सञ्चालनमा रहेको शेर्पा मल धमाधम पुनर्निर्माण हुँदै छ। २०८४ भित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी निर्माण सुरु गरिएको शेर्पा मल बेसमेन्टबाहेक पाँचतले हुनेछ। काठमाडौं महानगरले फुटपाथमा ग्रेनाइट बिछ्याएको छ। पैदल मार्गको चौडाइ कम्तीमा तीन मिटरदेखि ६ मिटरसम्म बनाइएको छ।
अन्नपूर्ण होटल र शेर्पा मल मात्र हैन, अहिले दरबारमार्ग पूरै पुनर्निर्माण (रेनोभेट) भइरहेको देखिन्छ। काठमाडौंको मुटु मानिने र ‘ब्रान्डेड सप हब’को रूपमा परिचित दरबारमार्गले विस्तारै आफ्नो स्वरुप फेर्दै छ। केही वर्षअघिसम्म सडकमै पार्किङ हुने सवारीसाधन अहिले सपिङ कम्प्लेक्स र निजी पार्किङ क्षेत्रमा राखिन थालेका छन्।
सडक पूर्ण रुपमा खाली छ भने दायाँबायाँको फुटपाथमा ग्रेनाइट बिछ्याएर चिटिक्क बनाइएको छ। सोही कारण दरबारमार्गको रुप मात्र फेरिएको छैन, स्वरुपमै परिवर्तन आएको छ। पुराना व्यवसायीक भवन धमाधम भत्काएर नयाँ बनाइँदै छ भने केही भवन मर्मत हुँदै छन् र त्यहीभित्र पार्किङको स्पेस निकालिँदै छ।
दरबारमार्गको चोकैमा अवस्थित दरबार मल १ मा बेसमेन्टमा रहेको रेस्टुरेन्ट र पब हटाएर अहिले पूर्ण रुपमा पार्किङ बनाइएको छ। नजिकै रहेको दरबार मलले सुरुदेखि नै बेसमेन्टलाई पार्किङको रुपमा विकास गरिसकेको छ। उसले आफ्ना मलमा आउने ग्राहकलाई मात्र हैन, बाहिरका आगन्तुकलाई पनि पार्किङको पर्याप्त सुविधा दिँदै आएको छ।
काठमाडौं महानगरमा मेयर बालेन्द्र शाह ‘बालेन’ आएपछि दरबारमार्ग क्षेत्रको सडकमा हुँदै आएको पार्किङ हटाइएको थियो। महानगरले खुला सडकभित्र पार्किङ गर्न नमिल्ने र व्यावसायिक भवनले पार्किङ स्थल निकाल्नुपर्ने अडान राख्दै आएको थियो। कतिपय भवनले बेसमेन्ट पार्किङको रुपमा प्रयोग गरे पनि व्यवसाय चलाइरहेको पाइएपछि महानगरले डोजरसमेत चलाएको थियो।
-1755855895.jpg)
‘हाम्रोमा सुरुदेखि नै पार्किङ सुविधा रहँदारहँदै पनि बाहिर दरबारमार्गमा पार्किङ नै छैन भन्ने भाष्य स्थापित गरियो,’ दरबार मलका सञ्चालक दिप्रश शाक्यले भने, ‘पर्याप्त पार्किङ छन्। यहाँ आउनेहरू कहीँ पनि ठाउँ छैन भनेर फर्किनुपरेको छैन।’ सुरुमा सडकमै पार्किङ गर्दा पनि महानगरले निश्चित शुल्क उठाउने गरेको थियो। अहिले निजी पार्किङ स्थल पहिलाभन्दा निकै व्यवस्थित भएको उनले बताए। ‘पहिला सडकमै सवारी राख्दा जोखिम पनि थियो,’ सञ्चालक शाक्यले भने, ‘अहिले मल तथा निजी पार्किङ स्थलमा व्यवस्थित रुपमा सवारी राख्ने व्यवस्था छ। शुल्क पनि उस्तै छ। त्यसैले पार्किङ छैन भन्ने हैन, पर्याप्त छ भन्ने सन्देश सबैलाई दिन आवश्यक छ।’
दरबारमार्ग विकास बोर्ड अध्यक्ष सञ्जीव तुलाधरले दरबारमार्गको स्वरुप नै परिवर्तन हुने गरी पुनर्निर्माण भइरहेको बताए। ‘बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै अहिले पुराना भवन पुनर्निर्माण र सञ्चालनमा रहेका भवन मर्मतसम्भार भइरहेका छन्,’ अध्यक्ष तुलाधरले भने, ‘अहिले पनि दरबारमार्ग आउने ग्राहक पार्किङ नपाएरै फर्किनुपरेको थाहा छैन। बरु पार्किङ स्थलबारे नबुझेर फर्किएकाहरू भने छन्।’
नारायणहिटी दरबारदेखि विश्वज्योति हलसम्म रहेका भवन तथा संरचना अहिले धमाधम मर्मतसम्भार भइरहेका देखिन्छन्। अर्थात्, दरबारमार्ग क्षेत्रमा किनमेलका लागि आउने ग्राहकलाई लोभ्याउनकै लागि आफ्नो व्यापार, व्यवसाय स्थल चिटिक्क बनाउन व्यवसायी लागिपरेका छन्।
६ दशकअघि बनेको पाँचतारे होटल अन्नपूर्ण अहिले धमाधम पुनर्निर्माण (रेनोभेट) हुँदै छ। २५ तलाको अत्याधुनिक भवन बन्ने अन्नपूर्ण स्क्वायर होटल २०८५ भित्र सञ्चालनमा आउनेछ। पाँच दशकदेखि सञ्चालनमा रहेको शेर्पा मल धमाधम पुनर्निर्माण हुँदै छ।
लिक्यूड लाउन्ज सञ्चालक सञ्जीव लामा पछिल्लो केही समययता दरबारमार्ग तीव्र गतिमा पुनर्निर्माण भइरहेको बताउँछन्। ‘अबको केही वर्षपछि बेग्लै रौनक दिने सोचका साथ अहिले दरबारमार्ग क्षेत्र पुनर्निर्माण भइरहेको छ,’ सञ्चालक लामाले भने, ‘अब पार्किङ छैन भनेर नाक खुम्च्याउने दिन सकिए। अहिले पर्याप्त मात्रामा पार्किङ छन् भने चिटिक्क पनि बनिसकेको छ।’
फर्किएला रौनक?
पर्याप्त पार्किङ अभाव दैनिक करोडौंको व्यापार गर्ने दरबारमार्गको रौनक विस्तारै हराउँदै गएको थियो। कतिपय व्यवसायी त्यहाँबाट विस्थापित भएका छन् भने केहीले विकल्पको रुपमा ललितपुर महानगरको कुमारीपाटी क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्।
-1755855889.jpg)
अझ, दरबारमार्गबाट ब्रान्डेड सप मात्रै कुमारीपाटीमा सिफ्ट भएका छैनन्, त्यहाँ आउने ग्राहकको रोजाइ पनि उतै पर्न थालिसकेको छ। खासगरी कुमारीपाटी क्षेत्रमा निःशुल्क सवारीसाधन पार्किङ गर्न मिल्ने र महानगरले पनि कुनै दुःख नदिने भएपछि ग्राहकसँगै व्यवसाय कुमारीपाटीमै सिफ्ट भइरहेका थिए।
शेर्पा मलको व्यवस्थापन गर्दै आएका सञ्जीव तुलाधर दरबारमार्गको रेनोभेटले पुरानो रौनकता फर्काउने विश्वास रहेको सुनाउँछन्। २५ तले भवनसहित ३ सय बढी कोठासहितको पाँचतारे होटल अन्नपूर्ण स्क्वायर सञ्चालनमा आएपछि त्यस क्षेत्रको रौनकता बेग्लै हुने उनको बुझाइ छ। ‘अहिले चहलपहल घट्नुको कारणमध्ये अन्नपूर्ण होटल बन्द भएर पनि हो,’ व्यवसायी तुलाधरले भने, ‘ठूला–ठूला सेमिनार हलसहित अत्याधुनिक होटल सञ्चालनमा आएपछि दरबारमार्गको रौनकता फेरि फर्किन्छ। त्यसका लागि केही समय कुर्नुपर्छ।’
शेर्पा मललाई पनि पुरानो रौनकता पुनः फर्काउने आसमा पुनर्निर्माण गरिरहेको उनले बताए। अन्नपूर्णमा भाटभटेनीसमेत सञ्चालनमा आउनेछ। त्यसले पनि थप चहलपहल बढाउन मद्दत पुग्ने व्यवसायीको दाबी छ।
पुनर्निर्माणमा ध्यान
ग्राहकलाई लोभ्याउनकै लागि अहिले त्यस क्षेत्रमा सञ्चालित अधिकाशं रेस्टुरेन्ट तथा अन्य पसल धमधाम मर्मतसम्भार भइरहेका छन्। सकेसम्म सानै भए पनि पार्किङ स्पेस निकाल्ने र ग्राहकलाई आफ्नोमा कसरी आकर्षण गराउन सकिन्छ भन्ने ध्याउन्नमा अहिले व्यवसायी केन्द्रित हुन थालेको देखिन्छ।
-1755855895.jpg)
त्यसकै फलस्वरुप अहिले दरबारमार्ग क्षेत्रभित्र र वरपरसमेत ठूला भवन निर्माण हुने क्रमले तीव्रता पाउन थालेको छ। नारायणहिटी दरबारअघि रहेको हिमालयन बैंक क्षेत्रमा होस् वा विश्वज्योति हल। जताततै अहिले पुनर्निर्माण गरिँदै छ।
लामो समयदेखि सञ्चालन भइरहेको वल्डहाउस रेष्टुरेन्ट होस् या श्याम क्याफे। सबै ठाउँमा रेनोभोट भइरहेको छ। झट्ट हेर्दा कतै दरबारमार्ग नै नयाँ बन्न लागेको त होइन भन्ने झझल्को देखिन थालेको छ।
पार्किङ बनाउन तम्सिएका व्यवसायी
२०७९ माघदेखि काठमाडौं महानगरले दरबारमार्गमा सवारी पार्किङ निषेध गर्याे। महानगरको निर्णयपछि व्यवसायी केही समय आन्दोलित पनि भए। व्यवसायीले पटक–पटक मेयरलाई भेट्ने प्रयत्न गरे पनि बालेनले सुनेनन् र पार्किङ निषेध निर्णय पनि फिर्ता लिएनन्। यद्यपि मेयर बालेनले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीको आन्दोलनपछि यत्तिकै सेलाएको थियो। दरबारमार्गको पनि हालत उस्तै भएपछि व्यवसायी आफैं पछि हटेर वैकल्पिक व्यवस्था गर्न थालेका हुन्।
सुरुमा व्यवसायीले पार्किङको विकल्प दिनुपर्ने अडान राखे पनि पछि अन्नपूर्ण होटल, याक एन्ड यती, राष्ट्रिय वाणिज्य बैंक, दरबार मल, विश्वज्योति हल, राइजिङ मललगायत स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाएका छन्। अहिले केही घरले आफ्नै पार्किङ स्पेस निकालेका छन् भने केहीले पार्किङ शुल्क अन्य ठाउँमा व्यवस्थापन गरेर शुल्क आफैंले तिर्न थालेका छन्।
-1755855897.jpg)
महानगरकै अडानपछि शेर्पा मलले पुनर्निर्माण गरी पार्किङ स्पेस निकाल्न थालेको छ। मलभित्र दुईतले पार्किङका लागि स्पेस छुट्याइनेछ। यसो हुँदा अबको करिब डेढ वर्ष (२०८४) भित्रै दरबारमार्ग क्षेत्रमा पर्याप्त मात्रामा पार्किङ स्पेस निस्कने व्यवसायीको भनाइ छ।
राजा महेन्द्रले गरेका थिए नारायणहिटी दरबारको रेनोभेट
दरबारमार्गको प्रारम्भिक अवस्था साधारण थियो। काठमाडौं उपत्यकामा यो ठाउँ विकसित क्षेत्र थिएन। सामान्यतः खेतीयोग्य जमिन र केही बस्तीका रूपमा परिचित थियो। राणा शासनकालमा काठमाडौं उपत्यकामा बबरमहल, सिंहदरबार र थापाथलीजस्ता महत्त्वपूर्ण दरबार बनाइए। उबेला दरबारमार्ग क्षेत्रमा केही प्रभाव परे पनि मुख्य सहरी क्षेत्रको रूपमा विकसित भएको थिएन।
राजा महेन्द्रको शासनकालमा दरबारमार्गले ठूलो रुपान्तरण गर्याे। राजा महेन्द्रले काठमाडौंलाई आधुनिक सहरका रूपमा विकास गर्ने योजनाअन्तर्गत दरबारमार्गलाई प्राथमिकता दिए। १९६० को दशकमा दरबारमार्गलाई आधुनिक सहरको रुपमा परिचित बनाउने काम गरे। नारायणहिटी दरबारलाई पुनर्निर्माण गरी राजदरबारको रूपमा विकसित गरियो।
यसले दरबारमार्गलाई सांस्कृतिक र प्रशासनिक महत्व दियो। नारायणहिटी दरबारलाई अन्य प्रमुख सहरी क्षेत्रसँग जोड्न फराकिलो र सुगम सडक निर्माण गरियो। यही सडकलाई दरबारमार्ग नामकरण गरियो। दरबारमार्गको विकासक्रममा महत्वपूर्ण मिति तथा घटनाले यो स्थानको विकासलाई परिभाषित गरेको छ। १९५१ मा राणा शासन अन्त्यपछि काठमाडौंको सहरीकरण प्रक्रियाले गति लिएको थियो।
-1755855889.jpg)
१९६३ मा नारायणहिटी दरबारलाई पुनर्निर्माण गरी राजदरबारको रूपमा परिभाषित गरिएपछि यो क्षेत्र ‘हाई प्रोफाइल’को गन्तव्य बन्न थाल्यो। १९७० को दशकमा दरबारमार्गमा लक्जरी पसल, होटल र रेस्टुरेन्ट स्थापना सुरु भएपछि चहलपहल बढ्दै गयो। १९८० को दशकमा विदेशी पर्यटक आगमनले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा परिचित बनायो। नेपाल आउने पर्यटकलाई दरबारमार्ग ल्यान्डमार्क हुन थाल्यो।
दरबारमार्गको इतिहास र विकासले नेपालको सहरीकरण एवं आधुनिक सोचको अद्वितीय नमुना प्रस्तुत गरेको छ। यसले काठमाडौंको सांस्कृतिक, आर्थिक र सामाजिक महत्वलाई झनै प्रस्ट्याएको छ। दरबारमार्गले नेपाललाई आधुनिकता र परम्पराको सन्तुलित मिश्रणका रूपमा प्रस्तुत गरेको छ।