काठमाडौं। नेपाल राष्ट्र बैंकले साउन एक गतेदेखि लघुवित्त वित्तीय संस्थामा आधार दर (बेसरेट) नीति लागू गरेसँगै संस्थाहरुले आफ्नो बेसरेट सार्वजनिक गरेका छन्। लघुवित्तहरुले साउनदेखि लागू हुने औसत ब्याजदर गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमार्फत् सार्वजनिक गरेका हुन्।
हाल सञ्चालनमा रहेका ५२ वटै लघुवित्तले गत वर्षको चौथो त्रैमास (२०८२ असार मसान्त)सम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा मिथिला, आत्मानिर्भर, उपकार र सुपर लघुवित्तबाहेकले बेस रेटसमेत आफ्नो वित्तीय विवरणमा उल्लेख गरेका छन्।
राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्तले असार मसान्त कायम बेस रेट साउन, भदौ र असोज मसान्तसम्म लागू गरेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउने छन्। केन्द्रीय बैंकले यसअघि कायम १५ प्रतिशतको क्यापलाई हटाएर लघुवित्तले सोभन्दा माथिसम्म ऋणीसँग ब्याज लिन पाउने गरी ब्याजदर साउनदेखि बेसरेट र प्रिमियममा आधारित हुने व्यवस्था गरेको हो।
लघुवित्तले हरेक त्रैमासिक आधारमा आफ्नो बेसरेट गणना गर्नुपर्छ। यसका लागि चैत्र, वैशाख, जेठ महिनाको बेस रेटको औसत निकालेर साउन १ गतेदेखि लागू गरिन्छ। त्यसैगरी, असार, साउन र भदौ महिनाको औसत बेस रेट असोज १ गतेदेखि लागू हुनेछ।
असार मसान्तसम कायम बेसरेटअनुसार सबैभन्दा कममा ऋण दिने लघुवित्तमा पहिलोमा स्वाभिमान हुँदा दोस्रोमा ग्लोबल आइएमई ११.१४ प्रतिशत र तेस्रोमा नेसनल लघुवित्तको ११.३२ प्रतिशत बेसरेट कायम छ।
प्राप्त तथ्यांकअनुसार असार मसान्त तीन वटा थोक कर्जा दिने संस्थासहित ४८ वटा लघुवित्तको औसत बेसरेट १२.५२ प्रतिशत कायम छ। व्यक्तिगत लघुवित्तलाई हेर्ने हो भने थोक कर्जा दिने साना किसानको ४.२४ प्रतिशत, आरएसडिसीको ६.९६ प्रतिशत र फस्ट माइक्रो फाइानान्सको ७.५८ प्रतिशत बेसरेट कायम छ। खुद्रा कर्जा दिने बाँकी ४५ लघुवित्तको बेसरेट भने न्यूनतम ११.११ प्रतिशतदेखि अधिकतम १५.९४ प्रतिशत कायम छ।
असार मसान्तसम कायम बेसरेटअनुसार सबैभन्दा कममा ऋण दिने लघुवित्तमा पहिलोमा स्वाभिमान हुँदा दोस्रोमा ग्लोबल आइएमई ११.१४ प्रतिशत र तेस्रोमा नेसनल लघुवित्तको ११.३२ प्रतिशत बेसरेट कायम छ। साथै, उक्त अवधिमा यीबाहेक मेरो, सपोर्ट, समाज, फर्वाड, स्वरोजगार, जीवन विकास र छिमेक लघुवित्तको पनि बेसरेट १२ प्रतिशत कम ११.४६ प्रतिशतसम्म कायम छ।
लघुवित्तले आफ्नो बेसरेटमा अधिकतम ३ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज दर तोक्न पाउने व्यवस्था छ। यसअनुसार सबैभन्दा कम बेसरेट भएका स्वाभिमान, ग्लोबल र नेसनलले करिब १४.११ प्रतिशतको हाराहारीमा कर्जा प्रवाह गर्न सक्ने छन्।
यद्यपि, राष्ट्र बैंकको अर्को नियमअनुसार लघुवित्तको ब्याज दर वाणिज्य बैंकहरूको औसत बेसरेटमा ८ प्रतिशत जोडेर आउने दरभन्दा बढी हुन पाउँदैन। यसले अत्यधिक बेसरेट भएका संस्थालाई पनि निश्चित सीमाभित्र बस्न बाध्य पारेको छ।
लघुवित्तमा सबैभन्दा बढी बेस रेट भने समुदायिकको १५.९४ प्रतिशत हुँदा मानुश्री, एनएमबि र नेष्डो लघुवित्तको १५ प्रतिशमाथि बेसरेट कायम छ। बाँकी १७ वटा लघु वित्तको बेस रेट १३ प्रतिशतमाथि १५ प्रतिशतसम्म कायम छ। संस्थाहरूको उच्च बेसरेटले उनीहरूको वित्तीय स्रोतको लागत बढी भएको र कर्जा प्रवाहमा महंगो ब्याज दर लगाउनुपर्ने बाध्यता रहेको प्रष्ट हुन्छ।
