काठमाडाैं। अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ। दाताहरूको सहयोगबाट आएको ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका ती विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो।
नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गरे। कक्षा १ देखि ९ सम्मका छात्रछात्रालाई छनोट गरी नौ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको संस्थाका सचिव यदु सुवालले जानकारी दिए। नगरपालिकाभित्रका मावितर्फ विद्योदय मावि, यशोधरा मावि, लक्ष्मी मावि, सिद्धेश्वर माविसहित जनकल्याण आधरभूत विद्यालय, जगदिश्वरी आवि, पञ्चकन्या आवि, जनसेवा आवि र पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री पाएका सचिव सुवालले जानकारी दिए।
हाल अमेरिकामा बसोबास गर्दै आएका दम्पती ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट ३० हजार, डा सुन्दर मोहन प्रतिष्ठानबाट २० हजार, मदनप्रसाद श्रेष्ठ र देवी श्रेष्ठबाट प्राप्त २० हजार र खड्गबहादुर इन्द्रकुमारी श्रेष्ठबाट प्राप्त रु २० हजार स्कुल पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ।
कोशी प्रदेशका राज्यमन्त्री राईले अभिभावकविहीन विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री वितरणले अध्ययनमा मद्दत गरेको बताउँदै त्यस्ता विद्यार्थीको लगत संकलन गर्नुपर्ने बताए। अभिभावकविहीन बालबालिकका लागि पनि प्रदेशस्तरमा विभिन्न संस्था खुलेकाले त्यसमार्फत पालनपोषण र अध्ययनको व्यवस्था गर्न सकिने बताए।
अभिभावकविहीन, विपन्न बालबालिकालाई राज्यले नै आवासीय विद्यालयसहित अध्ययनको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो नहुँदा बालबालिकालाई दाता खोजेर सहयोग गर्नुपर्ने अवस्था आएको विद्योदय माविका प्रधानाध्यापक खोमराज धमलाले बताए। आमाबाबुको माया नपाएका बालबालिकालाई विशेष ध्यान दिनु जरुरी रहेको उनले बताए।