काठमाडौं। नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट 'करेन्ट पोइन्ट'को तेस्रो शाखा शंखमूलमा सञ्चालनमा ल्याएको छ। बुटवल र अनामनगरमा रहेका आउटलेटको अपार सफलता र ग्राहकको मागलाई ध्यानमा राख्दै कम्पनीले तीजको शुभ अवसर पारेर नयाँ आउटलेट खोलेको हो।
यस नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेट जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन सक्नेछन्। साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन्।
उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरूलाई काठमाडौंमा थप विस्तारका लागि प्रोत्साहित गरेको बताए। उनले भने, "काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो।"
सन् २०१७ मा स्थापित यसोदा फुड्सले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। कम्पनीले 'करेन्ट' ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ लोकप्रिय छ। 'करेन्ट' बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, र अन्य स्न्याक्स पनि उत्पादन गर्दै आएको छ। हाल कम्पनीले आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ।