काठमाडौं। नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको काठमाडौं क्रोनिकल्स एक नयाँ अनि रमाइलो अनुभव हो। एमक्यूब नेपालअन्तर्गत म्यारियट काठमाडौंद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिटका रूपमा ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरेको छ।
यो कार्यक्रम म्यारियटका (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) पार्टनर र सरोकारवालाका लागि विशेष रूपमा तयार पारिएको हो। यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौंको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको छ।
काठमाडौं क्रोनिकल्सको मूल आकर्षणमा काठमाडौं उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने 'ट्रेजर हन्ट' हो। सहभागीलाई विभिन्न समूहमा विभाजन गरी बिवाइडीका गाडीमार्फत यी स्थलमा लगिने छ। जहाँ उनीहरूले विभिन्न पजलहरू समाधान गर्ने, टास्कहरू पूरा गर्ने र ती स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउने छन्।
यसले नेपाललाई (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक भेला र सम्मेलनहरूलाई अनौठा सांस्कृतिक अनुभवसँग संयोजन गर्न सकिने प्रमाणित गरेको छ।
ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थानहरू रमाइलो गर्न, ज्ञान साटासाट गर्न र टिम स्पिरिट जगाउन सहयोग हुने अनुभवमा परिणत हुने छन्। कार्यक्रम म्यारियट काठमाडौंबाट सुरु भएर फेयरफिल्ड बाइ म्यारियटमा गएर समापन हुनेछ। जहाँ विजेता टोलीलाई 'काठमाडौं एक्सपर्ट्स'को उपाधि समेत प्रदान गरिने छ।
एमक्यूब र बिवाइडीबीचको यस सहकार्यले सहभागीलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौंलाई सम्पदा र अतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण पनि प्रदान गर्ने छ।