काठमाडौं। कैलाश पर्वत र मानसरोवर ताल प्रस्ट देखिने हुम्लाको लाप्चा प्रवर्द्धनको उद्देश्यले छांयाकन गरिएको भजन ‘जय जय शंकर’ सार्वजनिक गरिएको छ।
गीतको भिडियो हुम्लाको लिमी उपत्यकाको लाप्चामा ५१०० मिटरको उचाइमा खिचिएको हो। यस स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले प्रचुर सम्भावना बोकेको छ। निर्माण पक्षले संसारमै पहिलो पटक दुर्गम क्षेत्रमा म्युजिक भिडियो खिचिएको दाबी गरेको छ।
गायक सुगम पोखरेलको स्वरमा महादेवप्रति समर्पित भक्ति भजन कांग्रेस महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा काठमाडौंमा लोकार्पण गरिएको हो।
स्व. नातिकाजीको संगीत रहेको पुरानो भजनको मोहित मुनालले पुनः संयोजन तथा नयाँ संगीत संयोजन गरेका छन्। गीतमा थप शब्द विजय अधिकारीले दिएका छन्।
भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय छ भने निर्देशन विजय अधिकारीले गरेका छन्। किरण थापाको कोरियोग्राफी रहेको भिडियोमा हरि हुमागाईंको छायांकन निर्देशन तथा भरत रेग्मीको सम्पादन छ। निर्माण नियन्त्रक दिपेन गौतम ‘माइकल’ हुन्।
पूर्वपर्यटनमन्त्रीसमेत रहेका जीवनबहादुर शाहीले भिडियोले कर्णालीको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान गर्ने बताए। उनले भने, ‘यस भिडियोले हामी सबैलाई झकझक्याउनेछ। हाम्रा स्रोत प्रचुर छन् तर कानुनी संरचना बलियो भए देशलाई पाल्न सक्ने ठाउँ यही हो।’

महामन्त्री थापाले गीतप्रति विशेष प्रशंसा व्यक्त गर्दै भने, ‘सुगम पोखरेलको शक्तिशाली आवाज र बद्रीको अभिनयले गीतलाई जीवन्त बनाएको छ। कर्णालीमा दुःख मात्रै छ भन्ने होइन, यस्ता अनुपम स्थल पनि छन् भन्ने सन्देश यसले दिएको छ। सरकारले जिम्मेवारी खेल्नुपर्ने ठाउँमा यो टिमले गरेको पहल प्रशंसनीय छ।’
निर्देशक विजय अधिकारीले पुराणमा वर्णित लंकाका राजा रावणले कैलाश पर्वत पुगेर गरेको साधनाको प्रसंग स्मरण गर्दै भने, ‘हामीले पनि लाप्चा पुगेर कैलाश र मानसरोवर प्रत्यक्ष देख्यौं र त्यही स्थानमा यो गीतलाई जीवित तुल्यायौं।’
निर्माण पक्षले यस म्युजिक भिडियोले विश्वभरि नै नेपालबाट कैलाश पर्वत र मानसरोवर देखिन्छ भन्ने सन्देश पुर्याउँदै पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान गर्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा म्युजिक भिडियो प्रदर्शन गरिनुका साथै डिजिसेन्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।