काठमाडौं। गत शनिबार सम्पन्न नेपालको पहिलो एआई सुरक्षा भेलाले ६० भन्दा बढी प्रख्यात प्राविधिक नेतृत्व, विद्यार्थी र आविष्कारकलाई एकै ठाउँ ल्याएको छ।
भेलाको मुख्य उद्देश्य नेपालमा जिम्मेवार, नैतिक र दूरदर्शी कृत्रिम बुद्धिमत्ता (एआई) को विकास एवं प्रयोगबारे महत्त्वपूर्ण राष्ट्रिय संवाद सुरु रहेको आयोजकले जनाएका छन्।
नेपालमा पहिलो पटक नेपाली संस्था ‘एनोभेटर्स’ र बेलायतस्थित गैर–नाफामूलक संस्था ‘ब्लुडट इम्प्याक्ट’को संयुक्त आयोजनामा भएको थियो। कार्यक्रममा वक्ताले सूचनामूलक प्रस्तुति दिँदै जिम्मेवार र नैतिक रूपमा एआईको विकास गर्न किन महत्त्वपूर्ण रहेकामा जोड दिए।
भेलाको मुख्य आकर्षण नेपाल सरकारका पूर्वसचिव मधुकुमार मरासिनीको किनोट स्पिच रहेको थियो। उनले ’एआई गभर्नेन्सः एआई सुरक्षा र गभर्नेन्सका लागि नीतिगत आधारहरू’ शीर्षकमा आफ्ना विचार प्रस्तुत गरे। उनले पछिल्लो समय भएको प्रविधिको तीव्र विकास र नेपालले जिम्मेवार एआई प्रणाली निर्माण गर्न गरिरहेको प्रयासबारे चर्चा गरे।
उनले नवीनतम प्रविधि अँगाल्दै अघि बढ्नुपर्ने र सबै नागरिकलाई डिजिटल प्रविधिहरूको प्रयोगबारे बुझाउनु पर्ने आवश्यकतामाथि जोड दिएका थिए। नेपालमा एआई गभर्नेन्स र सुरक्षाका लागि स्पष्ट दृष्टिकोण राख्दै उनले भने, ‘नेपाल एआई गभर्नेन्समा पछाडि पर्नुहुँदैन। साथै, सरकारले एआईलाई आत्मसात गरी हरेक नागरिकले घरबाटै सरकारी सेवा लिन मिल्ने गरी अझै सरल र सहज बनाउने दिशामा अगाडि बढ्नुपर्छ।’
नेपालकै पहिलो कम्प्युटर अपरेटर नीलकण्ठ उप्रेतीले सहभागीलाई नेपालको ५५ वर्ष पुरानो कम्प्युटर प्रविधिको यात्रामा फर्काए।
उनले नेपालमा प्रविधिको विकासको ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै सबैलाई प्रभावित पारे। २०२८ को जनगणनाको नतिजा प्रशोधन गर्न नेपाल भित्र्याइएको आईबीएम १४०१ मेनफ्रेम कम्प्युटरसँग गरेको काम, राष्ट्रिय कम्प्युटर केन्द्रमा उनको भूमिका र पछि प्रमुख निर्वाचन आयुक्तको रूपमा नेपालको निर्वाचन प्रक्रियालाई आधुनिक बनाउन गरेको प्रयत्नबारे बताए।
त्यसैगरी ‘सिंगापुर एआई सुरक्षा हब’को प्रतिनिधित्व गर्दै भर्चुअल माध्यमबाटै सहभागी भएकी भ्यालेरी प्याङ्ले दक्षिणपूर्वी एसियामा अपनाइएका उत्कृष्ट अभ्यासबारे जानकारी दिइन् । उनले एआई सुरक्षा र जिम्मेवार एआई विकासलाई बढावा दिन सिंगापुरमा भइरहेका सहयोगात्मक प्रयासका बारेमा बताइन्।
प्रकृति भट्टराई र चन्दन गुप्ताले सहभागीलाई एआई युगका लागि तयारी रहन, एआईमा हुने विभेद र असमानताको सामना, जिम्मेवार एआई र दैनिक काममा एआईको नैतिक एवं जिम्मेवारपूर्ण प्रयोगबारे उपयोगी सीप सिकाए। कार्यक्रममा प्रतिक दाहालले हालका लार्ज ल्यांग्विज मोडल (एलएलएम)सँग सम्बन्धित जोखिमबारे संक्षिप्त जानकारी दिएका थिए।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन एआईसम्बन्धी अन्तरक्रियात्मक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिताका दुई विजेतालाई २०० अमेरिकी डलर बराबरको ‘पप्र्लेक्सिटी प्रो इन्टरप्राइज एडिसन’को ६ महिने निःशुल्क सदस्यता प्रदान गरिएको थियो।