काठमाडौं। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवम् महतो समूहका अध्यक्ष डा. उपेन्द्र महतोको लगानी रहेको नेपाल मेडिसिटी अस्पताल ३२ करोड घाटामा रहेको छ।
ललितपुरको नख्खुमा रहेको मेडिसिटी हस्पिटल आम्दानीको मुख्य आधार रहेको अश्विन मेडिकल कलेजको आम्दानी आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ५५ करोडमा सीमित भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा कलेजको यस्तो आम्दानी दुई अर्ब ७४ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०८१/८२ मा हस्पिटल ३२ करोड ४० लाख रूपैयाँ घाटामा छ। बाढीका कारण हस्पिटलको ३२ करोड आठ लाख बराबरको सम्पत्ति नोक्सान भएको र यसैले नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ।
गत वर्ष असोजमा उपत्यकामा आएको बाढीले अस्पताल डुबानमा परेको थियो। सोही डुबानको असरले अस्पतालको आम्दानीमा गिरावट आएको जनाएको छ।
हस्पिटलको ब्याज, ह्रास खर्च र कर अघिको नाफा-मार्जिन पनि घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात २७/७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा घटेर २१/५३ प्रतिशतमा सीमित भएको छ।
बाढीको समयमा हस्पिटल परिसरमा डुबानको समस्या हुने, बिरामी चाप कम हुने अवस्था सिर्जना भएको थियो। कम्पनीले बाढीको जोखिम कम गर्न खोलातर्फ चार फिटको पर्खाल लगाएको छ।
कूल २२७ शैयाको क्षमतायुक्त यस हस्पिटलले हाल चार अर्ब ५४ करोडको आवधिक कर्जा, ३३ करोड बराबरको अल्पकालीन आवधिक कर्जा र ६ करोड बराबरको कर्जा सीमा प्रयोग गरेको केयर रेटिङ्सले जनाएको छ।