काठमाडौं। भारतमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत अतिरिक्त शुल्क आजदेखि लागू हुने भएको छ। योसँगै भारतमा लगाइएको कुल कर ५० प्रतिशत पुगेको छ।
भारतमाथि अमेरिकी कर थपिएसँगै यसको सबैभन्दा ठूलो प्रभाव कपडा क्षेत्रमा पर्ने भएको छ। भारतका ठूला शहरमा रहेका कपडा उत्पादन बन्द गरिएको रिपोर्ट गरिएको छ।
भारतमाथि ट्रम्पले सुरुमा २५ प्रतिशत शुल्क लगाएका थिए। रूसी तेल खरिद गर्दा जरिवाना पनि लगाएका थिए। यसपछि अमेरिकाले भारतमा थप २५ प्रतिशत शुल्क लगाएको थियो। जसका कारण कुल संख्या ५० प्रतिशत पुगेको थियो।
भारतीय निर्यात संगठनहरूको महासंघका अध्यक्ष एससी रहानले भने, ‘बढ्दो लागत प्रतिस्पर्धाको बीचमा कपडा उत्पादकहरूले तिरुपुर, नोएडा र सुरतमा उत्पादन बन्द गरेका छन्। यो क्षेत्र भियतनाम र बंगलादेशका कम लागतका प्रतिस्पर्धीहरूभन्दा पछाडि परेको छ।’
यसअघि अमेरिकाले भारतविरुद्ध शृङ्खलाबद्ध रुपमा कर लगाउँदै आएको थियो। सन् २०२५ को अप्रिलमा राष्ट्रपति ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। तर, पछि यो निर्णय ९० दिनका लागि स्थगन गरे।

जुलाई २०२५ मा ट्रम्पले अगस्ट १ तारिखदेखि भारतीय सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरे। यस्तै, अगस्ट थप २५ प्रतिशत कर लगाउने घोषणा गरे। योसँगै भारतमाथि अमेरिकाले लगाएको करको दर ५० प्रतिशत पुगेको छ।
भारतले युक्रेनसँगको युद्धमा रुसबाट कच्चा तेल खरिद गरेर सहयोग पुर्याइरहेको भन्दै अमेरिका क्रुद बन्दै आएको छ। रुसी तेल नकिन्न दबाब दिँदै आएको अमेरिकाले अन्ततः भारतीय समानमाथि थप कर लागएको हो।
अर्थतन्त्रमा प्रभाव
योसँगै भारतको आम्दानी र जीडीपी घट्ने छ। ५० प्रतिशत भन्सार महसुलले अमेरिकामा हुने निर्यात घट्ने छ। यसले निर्यातबाट हुने सरकारको आम्दानी घटाउने छ।
विज्ञहरूका अनुसार अनुमानित भारतको जीडीपी वृद्धि ०.२ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म घट्न सक्छ। यसबाहेक सरकारले आफ्नो व्यापार नीति परिवर्तन गर्नुपर्ने हुन सक्छ।
अन्तर्राष्ट्रिय व्यापारमा प्रभाव
भारत सरकारले अमेरिकामाथि निर्भरता कम गर्न युरोप, रूस वा अन्य देशहरूमा व्यापार बढाउनुपर्ने छ। रोयटर्सको रिपोर्ट अनुसार ट्रम्पले भन्सार महसुल लगाएपछि, भारतको वाणिज्य मन्त्रालयले लगभग ५० देशहरूको लागि नयाँ निर्यात रणनीति तयार गरेको छ।
यसअन्तर्गत, भारतले अब चीन, मध्य पूर्व र अफ्रिकाको बजारमा ध्यान केन्द्रित गर्ने छ। एजेन्सी