काठमाडौं। नेपालमा व्यवसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउँदै इम्बार्क कलेजले दुईवटा महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ। इम्बार्क कलेजले “अप्रेन्टिससिप र स्टार्टअप क्षमता विकास कार्यक्रमकाे घोषणा गरेको हाे।
इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले याे पहलहरूले शिक्षाबाट व्यवसायिक दुनियाँमा हुने यात्रालाई सहज बनाउने बताए। "यो कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ," उनले भने।
उद्योगसँगको प्रत्यक्ष सहकार्यमा तयार पारिएको अप्रेन्टिससिप कार्यक्रमले स्नातकहरूलाई संरचित तालिम र रोजगारीको अवसर प्रदान गर्छ। नेपालका अग्रणी तथा नविन उद्योगहरूसँगको साझेदारीमार्फत, योग्य विद्यार्थीहरूलाई रोजगारी सुनिश्चित गरिने कलेजले जनाएको छ।
इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले नवप्रवर्तनशील व्यवसायहरूलाई कानुनी, वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यो कार्यक्रम १० वर्षभन्दा कम समय संचालनमा रहेका, वार्षिक कारोबार १५ करोडभन्दा कम भएका स्टार्टअपहरूका लागि लक्षित गरिएको हो। यो पहल राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी डिजाइन गरिएको इम्बार्क कलेजले बताएकाे छ।
सीईओ ठाकुरले भने,“नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतहरूसम्मको पहुँच सीमित छ। हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ।” यी दुवै कार्यक्रमले नेपालको समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखेकाे उनकाे भनाइ छ।